Shittalpati
मधुमेह रोगबारे सचेत बनौँ

विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार विश्व मधुमेह दिवस मनाइएको छ ।  मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन सुरु गरिएको हो । तर पछिल्लो समय मधुमेह चुनौतीको रुपमा देखा परेको छ । चलनचल्तीमा चिनीरोग भनेर पनि चिनिने यो रोगले कुनै खास उमेर समूहलाई मात्रै सताएको छैन, सबैथरी उमेरसमूहलाई ग्रस्त पारेको छ । त्यसो त मधुमेह हाल विश्वव्यापी रूपमा तीव्र रूपमा फैलिरहेको एक गम्भीर स्वास्थ्य समस्या हो ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा मधुमेहका बिरामीहरूको संख्या निरन्तर रूपमा बढ्दै गएको देखिन्छ । खानपान, शारीरिक सक्रियताको कमी, मानसिक तनाव, मोटोपनजस्ता कारणहरूले गर्दा मधुमेहको जोखिम झन् बढ्दो छ । यसलाई रोकथाम गर्ने प्रभावकारी उपायहरू अपनाइएन भने नेपालीहरूको स्वास्थ्य ठूलो जोखिममा पर्छ । बेलैमा रोकथाम जरुरी छ । मधुमेहले शरीरका सबैजसो अंगप्रत्यंगमा प्रहार गर्छ, आँखाको दृष्टिसम्म पनि गुम्न जान्छ । मुटु, मिर्गैेला र स्नायु प्रणालीसमेतलाई कमजोर बनाउँछ ।मधुमेह इन्सुलिन हर्मोनको गडबढीबाट हुने रोग हो । यो सरुवा रोग होइन । यो नियन्त्रण राख्न सकिने तर निको नहुने दीर्घकालीन रोग हो । यो रोग धनी, गरिब, बच्चा, वयस्क, सहर तथा गाम्रीण भेगमा बस्ने जोकोहीलाई पनि लाग्न सक्छ । हाल विश्वमा मधुमेहका कारण प्रत्येक ८ सेकेण्डमा १ जना मानिसको मृत्यु हुने गरेको छ । मधुमेहका कारण ह्दयाघात र पक्षघातको सम्भावना २ गुणाले, अन्धोपन हुने सम्भावना २ गुणा र मिर्गौला बिग्रने सम्भावना ५ गुणाले बढ्छ । मधुमेह नियन्त्रणमा नराख्दा गर्भवती अवस्थामा बच्चा र आमा दुवैमा नकारात्मक प्रभाव पार्न सक्छ । मधुमेह समयमै पत्ता नलागी अकालमा ज्यान गुमाउनेहरूको संख्या पनि धेरै छ । त्यसकारण मधुमेह सम्बन्धी चेतना चारैतिर फैलाएर यो रोगबाट हुनसक्ने नराम्रा परिणामहरूबाट बच्न सकिन्छ । विशेष गरी मधुमेह खानपिन र जीवनशैलीसँग सिधै सम्बन्ध भएको रोग हो । खानपिनको गडबढीजस्तै खानामा कार्बोहाइडूेटको मात्रा बढी, चिल्लो र गुलियो बढी, अल्छी जीवनशैली, व्यायामको कमी, मोटोपना र तनाव बढी लिएमा मधुमेह हुने सम्भावना धेरै हुन्छ । त्यसैले खानपिन र जीवनशैली सुधार गरेमा मधुमेहबाट बच्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update