पाल्पा, नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका–१० आमडाँडाका स्वर्गीय डिल बहादुर लम्तरीको परिवारलाई आर्थिक सहयोग गरेको छ । काँग्रेसले स्वर्गीय गणेशमान सिंहको १११औं जन्मजयन्तीको अवसरमा लम्तारीको घरमै पुगेर क्रियाखर्चबापत २५ हजार सहयोग गरेको हो ।
उक्त सहयोग रकम काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले लम्तारी परिवारलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सभापति श्रेष्ठले कमजोर आर्थिक अवस्था भएको परिवारलाई थोरै भए पनि राहत होस् भनेर तानसेन नगरपालिकाबाट प्राप्त ५ हजार र पार्टीकोतर्फबाट २० हजार गरी २५ हजार आर्थिक सहयोग गरिएको बताए । उनले काँग्रेस विपद्मा परेकाहरुको साथमा रहेको समेत बताए । सभापति श्रेष्ठले भने “काँग्रेस केवल राजनीतिक दल मात्र होइन, समाजसेवाको बलियो संस्था पनि हो । दुःखी र विपन्न नागरिकको छेउमा सधैं काँग्रेस रहनेछ । यो सहयोग कुनै औपचारिकता होइन, हाम्रो मानवीय जिम्मेवारी हो ।”
स्व.लम्तरी आफ्नै घरमा लडेर घाइते भएका थिए । परिवारका सदस्यका अनुसार घरमा सामान्य काम गर्दै गर्दा ढलेका उनलाई तत्काल अस्पताल पु¥याइए पनि उपचारका क्रममा निधन भएको थियो । उनकी श्रीमती, ८ वर्षका छोरा रिदम लम्तरी र ६ वर्षकी छोरी रितिका लम्तरी रहेका छन् । आर्थिक रूपमा कमजोर परिवारको कमाउने व्यक्ति नै गुमाएपछि कठिन अवस्थाको सामना गर्नुपरेको स्थानीयहरूले बताएका छन् ।


