Shittalpati
  पाल्पामा रोकिएन राजस्व छली 

पाल्पा, सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आए पनि कर छली रोकिएको छैन् । पाल्पा लगायत आसपासका जिल्लाहरुमा खुलमखुला रुपमा  भन्सार छली हुने गरेको पाइन्छ । पछिल्ला केही वर्ष यता पाल्पामा समेत भन्सार छली गरी सामान ल्याउने क्रम बढेको छ । पाल्पा सीमा नाका नजिकैको जिल्ला भएकाले पनि यहाँ भन्सार छली गरी सामान भित्रिने गरेको हो ।
 जिल्लाका विभिन्न ठाउँहरुबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामानहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६ सय  बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामानहरु बरामद गरिएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार  ५१ हजार ४ सय ५० बराबरको ३ सय ४३ पिस लेडिज सल, २४ हजार ६ सय बराबरको ४१ पिस लेडिज कुर्था सुरुवाल, १८ हजार ८ सय बराबरको बच्चा कपडा सेट र ३८ हजार ७ सय ५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट  बरामद गरिएको छ । बिल भौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।

पाल्पामा यसरी अवैध रुपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । भन्सार छली गरी अवैधरुपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । जबकि सम्बन्धित निकाय मौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । शुरुआती चरणमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ ।
चोरी पैठारीमा प्रहरीसित लाइन नमिले पनि मुलुकको प्रमुख नाकामा राजस्व छलीको धन्दा रोकिएको छैन । चोरी निकासी पैठारीमा संलग्न व्यवसायीले भन्सारकै मिलेमतोमा धन्दा गर्ने गरेका छन् । विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलेमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको तथ्य सरकारी अधिकारीले नै स्वीकार गर्ने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update