सहनशीलता महत्वपूर्ण मानवीय गुण हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि आत्म नियन्त्रण र धैर्यसाथ व्यवहार गर्न उत्प्रेरित गर्छ । यो गुण मानव जीवनका विभिन्न क्षेत्रमा अत्यन्त उपयोगी र प्रभावकारी र अपरिहार्यसमेत छ । सहनशीलताको अभावमा मान्छे आक्रोश, संघर्ष र तनावमा आउँछ, जसले व्यक्तिगत र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । सहनशीलताले मानिसलाई समय र परिस्थितिअनुसार प्रतिक्रियाको सही बाटो चयन गर्न मद्दत गर्छ भने विभिन्न कठिनाइबाबजुद पनि सकारात्मक सोच र व्यवहार अघि बढाउन सहायता प्रदान गर्छ । जीवनका कठिन क्षणमा सहनशीलताले हामीलाई निराशा र तनावबाट मुक्त गर्न सक्छ । मानसिक स्वास्थ्यको लागि पनि यो गुण अत्यन्त आवश्यक छ । तर पछिल्लो समय व्यक्तिहरुबिच सहनशीलताको अभाव हुँदै गएको महसुस गर्न थालिएको छ । देश परिस्थीका कारण मानिसहरु तनावको जीन्दगी जिउनु परिरहेको छ । मानिसलाई तनावबाट बाहिर निकाल्ने विषयमा भने कसैको पनि ध्यान पुग्न सकेको छैन ।
विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्ने उद्देश्यले हरेक वर्ष नोभ नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाउने गरिन्छ । आज पनि यस वर्षको दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो । सोही अनुरुप यो मनाउने गरिन्छ । नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस महत्वपूर्ण हुने गर्दछ ।
पछिल्लो समय राजनीतिक अस्थितरताका विभिन्न देशहरुमा द्धन्द सिर्जना भइरहेको छ । त्यसलाई शान्त बनाउनका लागि पनि यो सहनशीलता महत्वपूर्ण हुने गर्दछ । गलत राजनीतिक प्रवृत्तिका कारण द्धन्द र आतंककारी हमलाहरु हुनु जनता र राष्ट्रका लागि दुःखद् हो । यस्तो अवस्थामा सहनशीलता अपनाउनुको विकल्प हुँदैन । त्यसैले पनि यो दिवस आफैमा अत्यन्त महत्वपूर्ण रहेको छ । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ । मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ । रूप, रंङ र आकार फरक होला तर सबैलाई जोड्ने शुत्र भनेकै सहनशीलता हो । तसर्थ अहिलेको अवस्थामा सहनशीलता आवश्यक छ ।

