Shittalpati
समृद्धिको यात्रामा फड्को मार्दै मणिमुकुन्द सहकारी,  मनायो रजत महोत्सव

पाल्पा,  जिल्लाको सदरमुकाम तानसेनमा २०५८ साल चैत्र ८ गते स्थापना भएको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा मनाएको छ । ३० जना सस्थापक शेयर सदस्यबाट शुरु भएको सहकारीले २५ वर्ष स्थापनाको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । 

सहकारीले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई सार्थकता दिदै सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउदै लगेको हो । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि मणिमुकुन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै सहकारीले रजत महोत्सवसँगै २४ औं वार्षिक सधारण सभा मनाएको हो ।

सहकारीले रजत वर्षको अवसरमा तानसेन हुँदै मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई लक्षित गरेर तानसेन देखी मुक्तिनाथ सम्मका विभिन्न तिर्थस्थलहरुको दुरी सहितको  जानकारीमुलक होडिङ्ग बोर्ड बर्तुङ्ग चोकमा राखेको छ । यसै गरी सहकारीले निलसागरमा रहेका जेष्ठ नागरिक, अपाङ्गहरुलाई भोजनदान, सहकारी सम्बन्धी वक्तृत्वकला गरेको छ भने पाल्पा सिविआरमा रहेका अपाङ्ग बालबालिकाको लागि २५ हजार, भगवती मन्दिर गुठी व्यवस्थापन समितिलाई १० हजार सहयोग गरेको । यस्तै भगवती मन्दिर परिसरमा पनि सरसफाई गरेको छ । 

सहकारीले शेयर सदस्यका घरपरिवारका २५ जना जेष्ठ नागरिकहरुलाई दोषल्ला ओढाएर नगद र उपहार सहित सम्मान समेत गरेको छ । सभामा उत्कृष्ट कारोबारीमा सन्तुदेवी श्रेष्ठ, महेन्द्रमान राजलवट, शिव बस्याल, उत्कृष्ट बचत कर्तामा राम प्रसाद पन्थी, विनित श्रेष्ठ र विजया महर्जन सम्मानित भएका छन् । संस्थाले मरणोपरन्ता सहकारीका संस्थापक शेयर सदस्य सुरेन्दमुनी शाक्यलाई सम्मान गरेको छ । यस्तै संस्थाले कर्मचारी, सस्थापक शेयर सदस्य, वर्तमान कार्यसमिति, लेखा समिति, ऋण समितिका सदस्यहरुलाई पनि सम्मान गरेको छ । 

सहकारीले आफ्ना शेयर सदस्यहरुको हितमा केन्द्रित गरेर आफ्ना गतिविधीहरु सञ्चालन गर्दै  आएको छ । सहकारीमा आवद्ध शेयर सदस्यहरु मध्येबाट  जेष्ठ सदस्य तथा एकल महिलालाई  बार्षिक १ हजार २ सय भत्ता, सुत्केरी महिलालाई ५ हजार पोषण खर्च र शेयर सदस्यको मृत्युमा १० हजार घाट खर्च सहयोग गर्दै आएको छ । सहकारीले प्रत्येक बर्ष जेष्ठ नागरिकहरुलाई देश दर्शन सहितको भ्रमण, शेयर सदस्यहरुलाई विभिन्न सहकारीको अवलोकन भ्रमण, नियमित रुपमा शेयर शिक्षा सञ्चालन गर्दै आएको छ । शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना विमा समेत सहकारीले गरेको छ । २ लाख ५० हजार बाट शुरु भएको सहकारीको शेयर पुजी  हालसम्म ३ करोड १३ लाख ६३ हजार पुगेको छ । गत आर्थिक बर्षमा संस्थाले ३९ करोड बचत संकलन गरेको छ भने संस्थाले २५ करोड २९ लाख  ऋण लगानी गरेको छ । गत बर्षमा २५ करोड ९५ लाख ऋण असुली गरेको छ । सहकारीले ३ बर्षको अवधी अन्तरगत आ.व. ०७९/०८० मा २३ लाख ८७ हजार, आ.व. ०८०/०८१ मा ४५ लाख ६८ हजार र आ.व. ०८१/०८२ मा २५ लाख ८७ हजार खुद मुनाफा गरेको छ । संस्थाले विगत केही बर्षदेखी आफ्नै भवनबाट कारोवार गर्दै आएको छ । सस्थामा हाल २ हजार ६ सय शेयर सदस्यहरुले कारोवार गर्दै आएका छन् । 

कार्यक्रममा  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मणिमुकुन्द सहकारीले शेयर सदस्यको हितमा केन्द्रित रहेर काम गरेको बताए । नगरभित्र ५४ वटा विभिन्न प्रकृतिका कारोवार गर्ने सहकारी रहेकोले पालिकाले नियमित रुपमा अनुगमन गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा सहकारीका संस्थापक हेमन्तराज शाक्य, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी रायमाझी लगायतले सहकारीका काम कर्तव्य, अधिकारका बारेमा चर्चा गरेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष मधु दयाल सैजुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यहरुको हितमा केन्द्रित रहेर काम गर्दै आएको र आगामी दिनमा पनि सोही रणनिती बनाएर काम गर्ने बताए । सस्थाले १० हजार रुपैयाका दरले नयाँ शेयर सदस्यको आवेदन समेत खुलाएको अध्यक्ष वैजुले बताए । कार्यक्रम सचिव संजयराज शाक्यले बर्षभरीका सस्थागत योजना तथा कार्यक्रम कोषाध्यक्ष ज्ञानु कार्की आर्थिक गतिविधी प्रस्तुत गरेका थिए । सस्थाका अध्यक्ष मधुदयाल सैजुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष शुसिल प्रधानको स्वागत र सचिव संजयराज शाक्यको संचालन र कार्य समिती सदस्य सुवर्णमुनी शाक्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा शेयर सदस्य बुद्धरत्न शाक्यले स्वागत गीत प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update