आजभोली काजी अमर सिंह थापा, भीमसेन थापा, भक्ती थापा, बलभद्र कुवँर लगायतको देशभक्तीलाई चटक्कै बिर्साउने गरी आधुनिक राष्ट्रवादको सिद्धान्त विकास हँुदै गएको देखिन्छ । यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई पनि बिर्साइदिएको छ । अभावले पिल्सिएका भोका र नाग्गा जनतालाई साक्षि राखेर ख्रोक्रा राष्ट्रवादका भाषण र नारा घन्कीदै गएको छ । आफुलाई सबै भन्दा बढी राष्ट्रवादी सोच भएको व्यक्तिको रुपमा उभ्याउने प्रतिस्पर्धा नै चलेको छ । केहि राजनीतिक नेतृत्वको राष्ट्रवादमा छेपारे प्रवृत्तीलाई ती उल्लेखित महान योद्धाको आत्माले गिज्याईरहेको अनुभूति भएको छ । हुन पनि हात्तीको देखाउने दात जस्तै आजभोली यो प्रवृत्ती मौलाउदै गएको हो की ? अनुमान गर्न सकिन्छ । यहाँ देश र माटोको भन्दा पनि राज्य सञ्चालनमा उत्पन्न बेथितीका कारण सिर्जना भएको वितृष्णा र क्रमश बढ्दै गएको राष्ट्रप्रतिको निराशा, कमजोर बन्दै गएको राष्ट्रिय एकता, धर्म जाती र क्षेत्रीयताको नाममा उत्पन्न विवाद, दण्डहिनताको प्रश्रय, आन्तरिक र वाÞयरुपमा कमजोर बन्दै गएको देश । अर्को तिर देश र जनताको अजस्था उस्तै तर ख्रोक्रो राष्ट्रवाद, जनताबाट सहानुभूति प्राप्तिका लागि देखाउने राष्ट्रवाद, काठमाडौमा देखिने तर सिमामा नदेखिने राष्ट्रवाद ,देशको भूमिमा हैन कागज र नक्सामा मात्रै सिमित राष्ट्रवाद, भाषणमा मात्रै देखिने राष्ट्रवाद, सत्ता प्राप्ति र स्वार्थ परिपूर्तिमा देखिने राष्ट्रवाद, राष्ट्रघाती कोशी,महाकाली, गण्डक सम्झौता गर्दा पनि देखिने राष्ट्रवाद हैन वास्तविक देश र जनतालाई हित हुने, जनताको जीवनस्तरमा सुधार हुने राष्ट्रवादको खोजीे आजको आवश्यकता हो । अभाव गरीबी र भोको पेटले राष्ट्रभक्तिको गीत गाईरहन सक्दैन्, वास्तवमै राष्ट्रवादी बन्न पनि दिदैन् । यहाँ यसै सँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
राष्ट्र भनेको भूगोल मात्रै होइन भूगोल मात्रै देख्ने आखा सदाका लागि बन्द हुनुपर्दछ । अब देख्नु पर्दछ देशमा बस्ने समग्र जनतालाई । देशमै बसेर आफ्नै देशको आलोचना गर्नु, बिरोध गर्नुलाई मूखर्ता मानिन्छ । देश हाम्रो आश्रय स्थल पनि हो । यसैले हामीलाई स्वाधिन्ता र स्वतन्त्रता दिएको छ । माटोमा टेकेर माटोकै आलोचना गर्नुलाई शान्दर्भिक पक्कै मानिदैन् । यहाँ माटोको हैन देश सञ्चालकको गलत सोच र प्रवृत्तीका काराण कमजोर बन्दै गएको राष्ट्रयताको चर्चा गर्न खोजिएको छ । आर्थिक रुपमा कमजोर बन्दै गएको देश दिनप्रति दिन माग्ने दरमा वृद्धि हँुदै गएको छ । यहि अवस्थाकाविच राष्ट्रवादी नारा र भाषणले कति सान्दर्भिकता पाउला ? आयात व्यापारको अवस्था झनै कहाली लाग्दो छ । आयातको अंश समग्रमा ९२ प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । परनिर्भरताबाट देशका हरेक क्षेत्र अछुतो देखिदैनन् । उद्योगहरु स्थापना हँुदै जानुको सट्टा भएका बन्द हुँदै गएका छन् । उब्जाउ भूमि बाँझो हुँदै गएको छ । आयातमा कृषि उत्पादनमा हरियो तरकारीको अंश बढ्दै गएको छ । तथ्याकले हाम्रो राष्ट्रवादलाई गिज्याईरहेको छ । देश भित्र केहि अप्ठयारो पर्दा आफ्नो कमी कमजोरी हेर्न हैन् देशदेखि देश बाहिर सम्मकालाई दोष दिन, गाली गर्न तम्सिन्छौ । बलियो र आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय एकता, औद्योगिकरण,रोजगारी सिर्जना, जनताको दैनीकीमा सुधार जस्ता पक्षबाट मात्रै वास्तविक राष्ट्रियता प्राप्त हुने कुरामा राजनीतिक नेतृत्व वेखवर देखिन्छ । राजनीतिक अस्थिरता, गिनीजबुकमै लेखाउन सकिने सरकारका संख्या, अभाव, गरीबी,कष्टकर दैनिकी र भोको पेटबाट राष्ट्रियताको मूल मर्म प्राप्त हुने देखिदैन् । समृद्ध अर्थतन्त्र भएको सुखी र खुसी जनता सहितको राष्ट्रियताको खाँचो देखिन्छ ।
राष्ट्रियता बलियो बनाउने केहि पक्षहरु :
१) जनताको दैनिकीमा सुधार आवश्यक : जनताको दैनिकी सुधार विनाको राष्ट्रियताको कल्पना पनि गर्न सकिदैन । यसका लागि जनताका आधारभूत आवश्यकताको सहज परिपूर्ति हुन जरुरी छ । सरकारहरु जनताको अभिभावकको रुपमा उभिन सक्नु पर्दछ । घर दैलोमा सरकारहरु देखिनु पर्दछ । मूल्यस्तर दैनिकीमा असर नपार्ने खालको हुनुपर्दछ । हुने र हुँदा खाने जनताको पहिचान गरी दैनीकी सहज हुने गरी अनुदान र सहयोगको व्यवस्था सरकारले गर्नुपर्दछ । यसबाट देश प्रतिको माया र आस्थामा अभिवृद्धि हुने गर्दछ र यसैबाट वास्तविक राष्ट्रवादको भावना जनतामा विकसित हुँदै जाने देखिन्छ ।
२) उपभोग्य वस्तुको गुणस्तर र सहज व्यवस्थापन : बेला–बेलामा नेपाली बजारमा देखिने समस्या हो । दैनिक उपभोग्य वस्तुको अभाव हुनु । विशेष गरेर चाड पर्वको समय यो बेथिती र अभाव नेपाली बजारमा देखिने हाम्रो नियती नै बनेको छ भन्दा खासै फरक पर्दैन । अर्कोतर्फ दैनिक उपभोग्य वस्तुको गुणस्तरप्रति खासै ध्यान दिएको देखिदैन् । यहि कारण हाम्रा भान्छामा उपभोग्य हिन, विषादीयुक्त वस्तुको प्रयोग बढ्दै गएको कारण जनस्वास्थयमा विभिन्न समस्या देखिदै गएको छ । यस सम्वन्धमा काम गर्ने सरकारका निकायहरु सुस्त अवस्थामा देखिन्छन् । खुले आम गुणस्तरलाई कति पनि ध्यान नदिई यस्ता वस्तुको उत्पादन ,आयात ,खरिद बिक्री हँुदा जनतामा सरकार र राष्ट्रप्रतिको आस्थामा कमी आउने देखिन्छ । यस पक्षमा सुधार गर्न सकेमा वास्तविक राष्ट्रवादको भावना विकसित हुँदै जाने देखिन्छ ।
३) भन्सार दर, करको दर तथा शुल्कमा कटौती : देशमा अहिले तीन तहका सरकारहरुको नाममा ७६१ वटा सरकारहरु सञ्चालनमा रहेका छन् । ती सरकार सञ्चालनको आधार कर र शुल्कलाई मात्रै बनाउँदा जनताको देनिकी कष्टकर हुँदै गएको देखिन्छ । करका दर र शुल्कमा कटौती गरेर आम्दानीको बैकल्पिक स्रोतको खोजी नगर्दा नयाँ व्यवस्था जनताका लागि अभिषाप जस्तै बनेको छ । गास काटेर चर्को कर र शुल्क तिर्नु पर्ने अवस्था उत्पन्न भएको काराण जनता खासै सरकारहरुप्रति सन्तुष्ट देखिदैनन् । अर्कोतर्फ चर्को भन्सार दरका कारण समय अनुसारका उपभोग्य वस्तुको उपभोगबाट जनता बञ्चित जस्तै देखिन्छन् । उदाहरणको लागि सवारी साधनको आयातमा लाग्ने भन्सार दर ,कर दर तथा अन्य शुल्कका कारण मूल्य २०० ÷ ३०० प्रतिशतसम्म मूल्य बढेका कारण जनताले सामान्य जनताका लागि साधन उपभोग कल्पना भन्दा बाहिर हुने देखिन्छ । यो पिडामा नेपाल भारत सिमामा बस्ने नेपाली अझै बढी परेको देखिन्छ । बढ्दो भन्सार दर ,करको दर तथा शुल्कमा कटौती गरेर जनताको दैनिकीमा सुधार गर्न सकेमा बास्तविक राष्ट्रवादको भावना जनताका विकसित गर्न सकिने देखिन्छ ।
४) सिमा व्यबस्थित हुनुपर्ने : नेपाल र भारत, नेपाल र चीन बिचको सिमा व्यवस्थित गरि सरकारको उपस्थिति देखाउन सरकारहरु असफल जस्तै देखिन्छन् । सत्ताको स्वार्थमा रमाएका राजनीतिक दल र तीनका नेतृत्वबाट यो सम्भव हुने पनि देखिदैन् । अव्यवस्थित सिमाबाट काठमाडौंमा सुरक्षा घेरामा बसेका राजनीतिक नेतृत्वलाई खासै फरक नपर्ला तर सिमामा बसेका जनताले दिनदिनै यो पिडा खेपी रहेका छन् । सिमावासी जनताको समस्या समाधान गर्न, विशेष सुविधा दिन, थप विकासका कार्यक्रम बनाउन सरकारको चासो नहुँदा, राष्ट्रियता र राष्ट्रवादी भावनामा ह्रास आईरहेको देखिन्छ । यस पक्षमा सुधार गर्न जरुरुी देखिन्छ ।
५) अभिभावकको भूमिकामा सरकार हुनुपर्ने : सरकारका नेतृत्वकर्ता वा राजनीतिक दलहरु देशमा अप्ठ्यारो स्थिती उत्पन्न हुँदा, देश भित्र विपद् आउँदा, वैदेशिक रोजगारका लागि विभिन्न देशमा पुगेका नागरिकलाई समस्या पर्दा समस्या समाधान गर्न, अभिभावकको भूमिकामा उपस्थित हुन् तथा अन्तर्राष्ट्रिय मामिलाहरुमा राज्यको उपस्थिती शुन्य प्रायः देखिन्छ । त्यस्तै रेमिटान्समा रमाउने सरकार विदेशी भूमिमा ज्यान गुमाएका नागरिकको लास देशमा ल्याउन, परिबन्धमा परेका नागरिकको उद्दार गर्नमा वेखवर देखिन्छ । यी पक्षमा वेखवर भएकै काराण देश भित्रका र रोजगारीको लागि अन्य देश पुगेका जनतामा राष्ट्रियताको भावनामा कमी आउदै गएको देखिन्छ । राष्ट्रयता र राष्ट्रवादमा सुधार गर्न यी उल्लेखित पक्षमा सुधार जरुरी देखिन्छ ।
निष्कर्ष : सार्वभौमिकता अखण्डता र एकता सहितको राष्ट्रवाद कुनै पनि देशको अपरिहार्य तत्व हुन् । वि.स. २०४६ सालपछि क्रमशः राष्ट्रिय एकतामा ह्रास हुँदै गरेको अनुमान गर्न सकिन्छ । राजनीति सौदावाजी र स्वार्थ परिपूर्ती गर्न विदेशी सामु घुडा टेक्ने, अध्यारो कोठामा जस्तोसुकै सम्झौता गर्ने राजनीतिक नेतृत्वको कार्यशैली नै बनेको कारण राष्ट्रियता माथि प्रश्न उठ्ने गरि वैदेशिक हस्तक्षेप बढ्दै गएको छ भने जनतालाई भ्रम पार्ने, मतदातालाई प्रभाव पार्ने ख्रोक्रो राष्ट्रवादले प्रस्ट पार्दै आएको छ । सार्वभौम देशका लागि यी दुवै पक्ष घातक हुन । अब बलियो अर्थतन्त्र सुखी र खुसी नेपाली बस्ने देशको खाँचो छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा उत्पन्न वेथिती, राष्ट्रियता माथिको प्रहार तथा छाडातन्त्रको अन्त्य गरि व्यक्ति र पाटी भन्दा माथि देश भक्तको भावनालाई विकसित गर्दै लैजान सकेमा खोक्रो राष्ट्रवादबाट देशलाई रुपान्तरण गरी वास्तविक राष्ट्रवाद भित्रयाउन सकिने देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

