Shittalpati
भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ । मन्दिरको दक्षिण र पूर्व तर्फको मध्य भागको छाना सहितको भाग भत्किएको हो । वुधवार दिउसो करीव दुई बजेको समयमा पहिले पूर्व तर्फको भाग भत्किए लगत्तै पुनः दक्षिण तर्फको भाग भत्किएको छ । मन्दिर काजी अमरनारायण सिंह थापाले नेपाल अग्रेज युद्धको समयमा विस १८६३ सालमा निर्माण गरेका थिए । मन्दिरको पूर्व दक्षिण भाग भत्किएर पछी कुरुप देखिएको छ । करीव ६ बर्ष अघि तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा मन्दिरको जिर्णाेद्धार गरी गजुरमा सुन लेपन गरिएको थियो । मन्दिरमा पुरातत्व महत्वका बहुमुल्य काठका टुडालहरु रहेका छन् । मन्दिरको छानो भत्किए पछी अहिले सर्वसाधारणहरुलाई मन्दिर प्रवेशमा रोक लगाईएको छ । मन्दिरको पश्चिम र उत्तरतर्फको छानो पनि भत्किने अवस्थामा पुगेको छ । मन्दिरमा सर्वसाधारण व्यक्ति तथा पुजारी नभएको अवस्थामा छानो भत्किदा मानविय क्षति भने भएको छैन ।

पाल्पामा यसरी मन्दिर हालसम्म आफै नभत्किएकाले धार्मिक व्यक्तिहरुले अनिष्ट हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘म मन्दिर आश्रमै बसेको थिए, दुई बजेको समयमा पुर्वतर्फको छानो भत्किए लगत्तै दक्षिणतिरको भत्किदा प्रत्यक्ष आखाँले देखे, प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकामा खबर गरें ’ पुजारी उमा शंकर पोखरेलले भने । मन्दिर निरीक्षणमा आएका सिडियो, मेयर र प्रहरीले मन्दिर सर्वसाधारणको लागि बन्द गर्न भनेपछि अहिले बन्द गरिएको उनले बताए । २१५ बर्षको ईतिहास बनाएको ४ तले पुरानो अमनारायण मन्दिरमा बहुमुल्य काठमा कुदिएका चित्रकला उत्कृष्ट काठको कलाकारीता देख्न सकिन्छ । तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाहीले पुरातत्व विभागको सहयोग लिएर जिर्णाेद्धारको काम गरिने बताए ।

पाल्पाको भगवती मन्दिर भन्दा पनि पुरानो मन्दिर भएकाले तत्काल जिर्णाेद्धारको लागि तीन वटै सरकारले चासो दिनु पर्ने, भत्किएका महत्वपूर्ण सरसमानको तत्काल रेकर्ड राखी सुरक्षित स्थानमा राख्नुपर्ने, भत्किएको मन्दिरमा पैसाबाट किन्न नपाईने अमूल्य सरसमान भएकाले २४ सै घण्टा सुरक्षाकर्मी तथा सिसी क्यामेराबाट मन्दिरको निगरानी गर्नुपर्ने नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update