
पाल्पा, तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
तालिमको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख शाहीले समाजमा भएका विवादहरुको सहजिकरण गर्न मेलमिलापकर्ताहरूलाई पुनर्ताजकीय तालिम महत्वपूर्ण हुने बताए । उनले समुदायमा शान्ति स्थापना गर्न जित–जितको सिद्धान्त अवलम्वन गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गरे । नगर प्रमुख शाहीले स्थानीयस्तरमा तानसेन नगरपालिका न्यायिक समितिको कार्यदक्षता शतप्रतिशत रहेको बताउँदै सबै सहयोगीलाई धन्यवाद दिए । न्यायिक समितिका सदस्य शशि श्रेष्ठ, प्रशिक्षक सविना थापा लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागी मेलमिलापकर्ताहरुलाई आग्रह गरे ।
तालिममा तानसेन नगरपालिकाका १४ वटै वडाका २६ जना मेलमिलाकर्ताहरुको सहभागी रहेको छ । केन्द्रका प्रशिक्षकहरू यम बहादुर जोति र सविना थापाले तालिममा सहजीकरण गरेका छन् । तालिममा मेलमिलाप सम्बन्धी व्यवहारिक ज्ञान, विवाद समाधानको भूमिका अभिनय, वडा मेलमिलाप केन्द्रमा भएका विवाद र मेलमिलाप प्रक्रियाका क्रममा सहभागीहरूले अनुभव गरेका ब्यवहारिक कठिनाइको समाधान खोजिने र मेलमिलापकर्ताहरूको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको केन्द्रका जिल्ला कार्यक्रम संयोजक अम्बिका बस्यालले बताइन् । न्यायिक समितिका संयोजक एवं उपप्रमुख लक्ष्मीदेवी पाठकको अध्यक्षता, न्यायिक समितिका सदस्य सचिव चिना न्यौपानेको सञ्चालानमा उद्घाटनशत्र कार्यक्रम भएको थियो । यस अघि स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत तानसेन नगरपालिका, रैनादेवी छहरा र बगनासकाली गाउँपालिकाहरुमा न्यायिक समिति र मेलमिलापकर्ताहरु बिच सामुदायिक मेलमिलाप सम्बन्धी सिकाइ र अभ्यास आदान प्रदानका कार्यक्रमहरु समेत भएका थिए ।
यी पालिकाहरुका सबै वडामा मेलमिलाप परिषदले तोकेका ४८ घण्टे सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्राप्त गरेका र स्थानीय तहमा सूचिकृत मेलमिलापकर्ताहरु रहेको, वडा मेलमिलाप केन्द्रहरु स्थापना भै कार्य भइरहेको र तालिम र त्यसपश्चात्को कार्य अनुभवबाट प्राप्त सिकाइ र अभ्यास बारेमा प्रत्येक वडाका मेलमिलापकर्ताहरुले छलफल गरेका थिए ।