.jpg)
पाल्पा, पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
दुवै मिर्गौलामा समस्या आएपछि लामो समयदेखि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ । पाल्पालीको मंगलबार राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा समेत सक्रिय थिए । कानुन व्यवसायीसमेत रहेका उनी विभिन्न संघसंस्थामा आवद्ध थिए । पत्रकार पाल्पालीको श्रीमति रेणुका भट्टराई पनि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन् । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । पाल्पालीको निधनप्रति पाल्पाका पत्रकार र साहित्यकारहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । उनीहरुले पत्रकारिता र साहित्य क्षेत्रमा पाल्पालीको निधनले ठूलो क्षति पुगेको भन्दै दुख व्यक्त गरेको पाइन्छ ।