Shittalpati
सेना दिवस मनाइँदै

पाल्पा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छन् । यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्याण्ड डिस्प्लेसहित गीत संगीतको धुन प्रस्तुत हुनेछ । जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय काम गर्दै आएको छ । वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ । सैनिक वीरपूर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update