
गुल्मी, जिल्लाको मुसिकोट नगरपालिका–४ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
इस्मा गाउँपालिका – १ का वडाध्यक्ष चुरा बहादुर खत्रीले अग्नि पीडित कार्कीलाई नगद १४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार कार्कीको घरमा पुगेर खत्रीले नगद १४ हजार, नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महतले ३ हजार गरेर नगद १७ हजार रुपैयाँ कार्कीलाई हस्तान्तरण गरिएको हो । ‘विपदमा सबैलाई थोरैधेरै सहयोग गर्नुपर्छ’ सहयोग हस्तान्तरण गर्दै वडाध्यक्ष खत्रीले भने । ‘अग्नि पीडितलाई केही राहतको लागि आर्थिक सहयोग गरेको हुँ ।’ खत्रीले विपदमा सबैलाई सहयोग गर्दै आइरहेका छन् । नेपाली काँग्रेस इस्मा गाउँपालिका –१ का सभापति समेत रहेका खत्रीले आगलागीबाट घर जलेर पूर्ण रुपमा नष्ट भएकाले पीडितलाई सान्त्वना दिन र आर्थिक सहयोग गर्न आफू बडागाउँमा पुगेको बताए । नेपाली काँग्रेस मुसिकोट नगरपालिका – ४ का सभापति समेत रहेका अग्नी पीडित कार्कीको घरमा गत शनिबार राति करिब १२ बजे आगलागी भएको थियो । कार्कीकी छोरी कुसुम चिच्याएपछि मात्र घरका अन्य परिवारले आगलागी भएको जानकारी पाएका थिए । आगलागीबाट करिब २२ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट खाद्यान्न, कपडा, केही चाँदी, भाँडाकुँडा र घरमा रहेको टेलिभिजन लगायतका सबै सामग्री जलेर नष्ट भएको पीडित कार्कीले बताए ।
आगलागीको प्रकृति हेर्दा कसैले लगाएको हुन सक्ने अनुमान गरिए पनि कसैसँग शत्रुता नभएको पीडित कार्कीको भनाई छ । केही दिन अघि कार्कीको घरदेखि २ किलोमिटर नजिकै बडागाउँको स्वास्थ्य चौकीको एम्बुलेन्समा समेत आगलागी भएको थियोे । एम्बुलेन्स र घरमा लगातार आगलागी हुनुले सुनियोजित तवरले आगलागी भएको भनिए पनि दोषी पत्ता लाग्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पीडित कार्कीलाई अहिलेसम्म ब्यक्तिगत रुपमा इस्मा गाउँपालिका –१ का सभापति चुरा बहादुर खत्रीले नगद १४ हजार, मुसिकोट नगरपालिका ३ पेंगाका शंकर रायमाझीले ५ हजार र नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महतले ३ हजार आर्थिक सहयोग गरेका छन् । यसअघि नेपाली काँग्रेस गुल्मीकी सदस्य निर्मला केसीको नेतृत्वमा कार्कीलाई खाद्यान्न समेत उपलब्ध गराइएको थियो । कार्की अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन् । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका जिल्ला सभापति रेशम कुँवर, प्रेस युनियनका जिल्ला सचिव रमेश विश्वकर्मा, पत्रकार सुमन महतारा, सन्तोष महतारा लगायतको सहभागिता रहेको थियोे ।