
तम्घास, पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन् । खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो ।
विवाहको अर्को दिन शनिबार खरेल दम्पतीले दिब्रुङ्गकै शारदा माध्यमिक विद्यालयमा ५० हजार एक सय एकको अक्षयकोषको स्थापना गरेका हुन् । त्यस्तै उनीहरुले विद्यालयका लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि हस्तान्तरण गरेका छन् । खरेल सोही विद्यालयका पूर्वविद्यार्थी हुन् । उनी अहिले नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका खेलकुद तथा स्काउट प्रशिक्षक हुन् । खरेल आइटिएफ तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन् । खड्का पनि स्काउट विपत् व्यवस्थापन आकस्मिक उद्दारकर्ता हुन् । त्यसैले उनीले उक्त रकम खेल र स्काउटको क्षेत्रमा खर्च हुनेगरी अक्षयकोषको स्थापना गरेको जनाइएको छ । भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ अक्षयकोषको स्थापना र माक्स प्रदान गरेको खरेलले बताए । –रासस