
पाल्पा, तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा पाल्पा आवासिय मा.वि प्रथम, दमकडा मा.वि. द्वितीय र वृन्दावन एकेडेमी तृतिय भएका छन् । विशेषत क्वाड च्याम्प खेलमा विभिन्न चरण हुने गर्दछन् । जसमा हिज्जे राउन्ड, एक्टिङ राउन्ड, जम्बलिङ द वर्ड, विज्ञापन राउण्ड रहने गर्दछ । एक समुहमा दुई जना सहभागी रहने खेलमा विद्यार्थीको वौद्धिक तथा अभिनयकला, शब्दावली आदिको ज्ञान र सिपको आधारमा मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रममा विजयी प्रतियोगीलाई पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथी विद्यालय सञ्चालक समितिका उपाध्यक्ष त्रिलोचन पौडेलले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न क्वाड च्याम्प प्रतियोगीताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउदै आइएको बताए । उनले अतिरिक्त क्रियाकलापका लागि स्कूलमा समिति नै गठन गरी विभिन्न किसिमका रचनात्मक क्रियाकलाहरु गर्दै आइएको बताए ।
कार्यक्रममा क्वाडमास्टरको रुपमा प्रम कुमारी थापा रहेकी थिइन् भने विश्वास ढुङ्गाना, धुब्र थापा, सविनपाण्डे निर्णयकको भुमिकामा रहेका थिए । अतिरिक्त क्रियाकलापका संयोजक शोभा गुरुङ्गको अध्यक्षता, सह–संयोजक सविन पाण्डेको स्वागत, विद्यार्थी पुजा दलार्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।