Shittalpati
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा

रामचन्द्र रायमाझी

पाल्पा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको ठहर गर्दै खानी उद्योग विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले खानी तथा भूगर्भ विभागका कर्मचारी, व्यापारी सहित कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उसले गैरकानूनी र तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन् तथा दोहन गरेको आरोपमा नौ जना कर्मचारी, नौ ओटा सिमेन्ट उद्योगका सञ्चालक र नौ ओटा कम्पनीलाई विपक्षी बनाएर बुधबार मुद्दा दायर गरेको हो । कर्मचारीसँग मिलेर व्यापारीले तोकिएको भन्दा बढी खानीजन्य पदार्थ उत्खनन् गरेको अख्तियारको ठहर छ । अख्तियारले उनीहरु विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पाल्पामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालि, सर्वाेत्तम सिमेन्ट प्रालि, डोलामाइड चुनढुंगा प्रालि र कञ्चन क्वारिज खानी उद्योगविरुद्ध आयोगमा मुद्दा दायर भएको छ । यसैगरी अख्तियारले मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र त्यसका सञ्चालक विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै अख्तियारले विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशक घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजन मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र भूगर्भविद् सौनक भण्डारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update