Shittalpati
राजनीतिक पूर्वाग्रह त्यागेर विकास निर्माणमा लाग्न जोड

रमेश विश्वकर्मा
गुल्मी, राजनीतिक पूर्वाग्रह त्यागेर विकास निर्माणका कार्यमा लाग्न जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरूले जिल्लामा हुने हरेक किसिमका विकास निर्माणका कार्यहरूमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको भावना राखेर काम हुने गरेको भन्दै पूर्वाग्रह त्यागेर विकास निर्माणमा लाग्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा भएको सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास–ढोरपाटन सडक आयोजनाको स्तरोन्नती तथा निर्माण सम्बन्धमा सर्वदलीय सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले सम्बन्धित निकायलाई विकास सबैको साझाँ भएकाले कुनै पनि राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर काम नगर्न आग्रह गरेका हुन् । प्रतिशोधका कारण जिल्लाको विकासले कहिल्यै पनि गति नलिने भन्दै सहभागीहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनीहरुले सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास–ढोरपाटन सडक जिल्लाको लागि एउटा महत्वपूर्ण र सुरक्षित सडक रहेको बताए । ‘सडकको राम्रोसँग निर्माणको कार्य भएको छैन,’ सहभागीहरुले भने । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले २०७० सालमा यो सडकको शुभारम्भ गरेका थिए । सडकको शुभारम्भ गरेको केही समयसम्म पर्याप्त बजेट पर्दै आएको थियो र त्यसै अनुसार काम पनि भएको थियो ।

पछिल्लो समय बजेट पर्याप्त नपरेका कारण प्रभावकारी काम हुन नसक्दा जिल्लाबासी चिन्तित बनेका छन् । निर्माण कार्य शुरु भएको पाँच वर्षसम्म पनि कामले गति नलिएकाले सर्वपक्षीय कार्यक्रमको आयोजना गरिएको उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । सडक र रेसुङ्गा एयरपोर्टले जिल्लाको विकासमा पनि महत्वपूर्ण सहयोग पु¥याउने बताईएको छ । तर यस्ता महत्वपूर्ण विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रह भएको सहभागीहरुले गुनासो गरेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले यो सडक सबैभन्दा ठूलो राजनीतिक पूर्वाग्रहको चपेटामा परेको बताए । ‘उनले जिल्लामा भए गरेका हरेक विकास निर्माणमा राजनीतिक पूर्वाग्रह भएको बताउँदै विकासमा राजनीतिक पूर्वाग्रह राख्दै जाने हो भने जिल्ला विकासमा सधैँ पछाडी पर्ने धारणा व्यक्त गरे ।’ सभापति श्रेष्ठले जनप्रतिनिधिको कमजोरीका कारण सडक निर्माणको काम पछाडी परेको बताए । उनले भने ‘हिजो प्रदेश आन्दोलनमा जसरी सबै राजनीतिक दल एक ठाउँमा भएका थियौ, त्यसरी नै विकास निर्माणका काममा सबै राजनीतिक पूर्वाग्रह नराखी एकै ठाँउमा आउनुपर्छ ।’ सभापति श्रेष्ठले जिल्लाको भविष्य जोड्ने सबैभन्दा छिटो तराईमा पुग्न सकिने सडकलाई विशेष महत्व दिन सबै जनप्रतिनिधि तथा राजनीतिक दललाई आग्रह गरे ।

समाजवादी पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष घनश्याम पाण्डेले जिल्लामा भएका हरेक विकास निर्माणका काममा राजनीतिक प्रतिसोधको भावना राखेर अगाडि बढ्ने भएकाले जिल्ला विकासमा धेरै पछाडी परेको बताए । जनमोर्चाका जिल्ला अध्यक्ष हरि न्यौपानेले जनताले तिरेको कर नै पूर्वाग्रह ढङ्गले वितरण हुने गरेको बताए । उनले अहिलेका जनप्रतिनिधिहरुले जनताका हकहितमा हुने काम नगरेर कार्यकर्तालाई मात्र पाल्ने काम गरेको आरोप लगाए ।

कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले । सबैले प्राथमिकताका साथ सडकलाई हेरेर काम तिव्र गतिमा अगाडि बढाएमा जिल्लाको विकासमा धेरै परिवर्तन आउने बताए । संघका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले विकास निर्माणमा सबै एकतावद्ध भएर लाग्नुपर्ने बताए । संघका अध्यक्ष श्रीप्रसाद भलामीले सडक राष्ट्रिय गौरवको योजना भएकाले स्तरोन्नति र निर्माण कार्यमा सबैले ध्यान दिनुपर्ने बताए । यो सडक छिटो सम्पन्न भएमा वर्षेनी सिद्धबाबा पहिरोबाट हुने मानवीय तथा भौतिक क्षति कम हुने, दैनिक उपभोग्य सामानको मूल्य सस्तो हुने, लुम्बिनी आएका पर्यटकलाई सजिलै रेसुङ्गा हुँदै ढोरपाटन पुर्‍याउन सकिने, कृषि जन्य पदार्थ सजिलै तराईसम्म पुर्‍याउन सकिनेमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज भुसालले राजनीतिक दलहरुलाई विकास निर्माणका कार्यमा राजनीतिक प्रतिशोधको भावना नराखी काम गर्न आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update