Shittalpati
‘राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो’

राँझा । देश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी हुने गरेको बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पूर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले थुप्रै राम्रा कामहरु गरेको तर प्रचार–प्रसार नहुँदा नकारात्मक टिकाटिप्पणी हुने गरेको बताएका हुन् । उनले भने, ‘सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।’

मुख्यमन्त्री पोखरेलले नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताए । उनले भूमि सम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी गराए । ‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।’ उनले भने । मन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दावी गरे ।

‘भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकार विरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ’, उनले भने ‘पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको संख्या बढ्दै गएको छ ।’ सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका १ सय १३ घर सुकुम्वासीलाई तेस्रो चरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पूर्जा वितरण गरिएको थियो । उनीहरुले २२ वर्षपछि पूर्जा पाएको जनाइएका छन् । पहिलो चरणमा २८ र दोस्रो चरणमा १ सय १० जनाले जग्गाधनी पूर्जा प्राप्त गरिसकेका छन् । –रासस

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update