Shittalpati
‘कृषि एम्बुलेन्सले’ कृषकलाई राहत, उपभोक्तालाई सहज

कृष्ण पोखरेल
पाल्पा, कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाल्पामा गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण मानिस घरभित्रै बसेका छन् । एकातिर लाखौ रुपैयाँ लगानी गरी उत्पादन गरेको कृषि उत्पादन खेतबारीमै सड्ने अवस्था छ, भने अर्काे तिर घर भित्रै रहँदा पैसा भएर पनि ताजा तरकारी खाने अवस्था नभएको अवस्थामा तानसेनमा कृषि एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको छ ।

तानसेन नगरपालिका, युएनडिपी, हेफर ईन्टरनेशनल र ग्रामिण आर्थिक विकास संघ रेडाको संयुक्त पहलमा तानसेनमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । कृषि एम्वुलेन्स सञ्चालनकर्ताले कृषकहरुसँग खरिद गरेको दरभाउँमै उपभोक्तालाई बिक्रि गर्दै आएको छ । तानसेन नगरपालिकाले ढुवानी खर्च अन्र्तगत तेल तथा प्याकेजि·को लागि सहयोग गरेको छ भने हेफर, युएनडिपी र रेडाले कृषकहरुको खेतवारी पुगी तरकारी खरिद गरी उपभोक्तालाई बिक्रिको व्यवस्था मिलाएका छन् । लाखौ रुपैयाँ लगानी गरेर सेमी, क्राक्रा र बन्दा उत्पादन गरेका थियौं, निषेधाज्ञाको कारण तरकारी बारीमै कुहिन थालेको थियो, रातभरी निद्रा लाग्दैन थ्यो कृषि एम्वुलेन्स सेवा सञ्चालन भएकै कारण अहिले उत्पादित तरकारी बिक्रि भएको तानसेन नगरपालिका ९ दमकडाका कृषक हरी प्रसाद भण्डारीले बताए । ५ दिनको अवधीमा ४ सय किलो सेमी विक्री गरेको कृषक भण्डारीले बताए । तरकारीको मूल्यमा व्यापारीले दिने मूल्य पाएका छांै, हामीजस्ता कृषकहरुको लागि कृषी एम्वुलेन्स ठूलो राहत दिएको कृषक भण्डारीले बताए । उनले भने ‘एम्बुलेन्सले सडकछाप हुनबाट बचाएको छ ।’ जताततै निषेधाज्ञा छ, तरकारी खरिदका लागि खेतबारीमा आउने व्यापारी समेत सक्रमणको जोखिम बढेको भन्दै आएका थिएनन् तर कृषि एम्वुलेन्स सञ्चालन भएपछी हामी जस्ता कृषकहरुका लागि राहत मिलेको तानसेन नगरपालिकां ७ टिन्टीआपकी गिता बस्यालले बताईन् । आफुले १ सय ५० किलो खुर्सानी कृषि एम्वुलेन्सलाई बिक्रि गरेको कृषक बस्यालको भनाई छ ।

तानसेन नगरपालिका ६ का दिपक भण्डारीले पनि कृषि एम्बुलेन्स मार्फत ३ सय किलो बन्डा, भान्टा बिक्रि गरेको बताए । ऋण काढेर विउ विजन मल खरिद गरेका थियौ, खेतालालाई ज्याला दियौं बिक्रि गर्ने समय बन्दाबन्दी भयो चिन्ता लागेको थियो तर कृषि एम्वुलेन्समार्फत बिक्रि गर्न पाउँदा खुसी लागेको कृषक भण्डारीले भनाई छ । कृषि एम्बुलेन्समार्फत सस्दो दरमा घर दैलोमा तरकारी पाउदा खुसी लागेको र आफुहरुले दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर खरिद गरेको तानसेन ५ की अनिता लिगलले बताईन । गत बर्षपनि कोरोना सक्रमणको समयमा पनि नगरपालिकाका टोल टोलमा कृषि एम्बुलेन्स सञ्चालन गरेका थियौं, सोही अनुभवको आधारमा यस वर्ष पनि कृषक तथा तानसेनवासीको माग अनुसार कृषि एम्बुलेन्स सञ्चालन गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । फरक दिन फरक स्थानमा कृषि एम्बुलेन्समार्फत तरकारी बिक्रि गर्दै आएका छौं , कृषकहरुबाट खरिद गरेकै मूल्यमा अन्य कुनै प्रकारको सेवा शुल्क नजोडी उपभोक्तालाई बिक्रि गर्दै आएको ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए । सेमी प्रति केजी ५० रुपैँया, खिरा क्राक्रो १२ रुपैयाँ, खुर्सानी १ सय रुपैँया, कटहर ४० रुपैयाँ, टमाटर २० रुपैयाँ प्रति केजी बिक्रि गर्दै आएको निर्देशक कार्कीले बताए । जेठ १० गते देखी शुरु गरेको कृषि एम्बुलेन्स मार्फत ६ हजार किलो तरकारी खरिद गरी तानसेनमा बिक्रि भएको छ ।

उपभोक्ताले भिडभाड नगरुन् भनि २ किलो टमाटर, २ किलो सेमी, साढे २ केजी खिरा काक्रो, भान्टा २ केजी, खुर्सानी आधा किलोको प्याकेजिङ्ग गरी बिक्रि गरिएको सहजकर्ता निर्प परियारले बताए । बिहान ७ बजे देखी ९ बजे सम्म तरकारी बिक्रि गर्ने, दिउसो १ घण्टा समिक्षा गर्ने, बेलुका २ बजे पछी कृषकको घर घरमा पुगी तरकारी खरिद गर्ने, साझ प्याकेजिङ गरी अर्काे दिन पुनः उपभोक्ता माझ बिक्रि गर्ने गरी तालिका बनाएर काम गर्दै आएको ग्रामिण आर्थिक विकास संघ रेडाका निर्देशक लिला बहादुर कार्कीले बताए । बन्दाबन्दीको कारण कृषकहरुको तरकारी खेतवारीमै कुहिन थालेपछी कृषि एम्वुलेन्स सञ्चालन गरिएको हेफर नेपालका कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले बताए । तानसेन नगरपालिका भरी जुनसुकै स्थानमा पुगेर पनि कृषकको तरकारी खरिद गरिने भएकाले नगरपालिका, हेफर समुह तथा रेडामा सम्पर्क गर्न कृषकहरुलाई अनुरोध गरिएको कार्यक्रम अधिकृत पाण्डेले बताए । कृषि एम्वुलेन्सको रुपमा हेफर ईन्टरनेसनल नेपालले सहुलित दरमा उपलब्ध गराएको मिलनसार सहकारी संस्था लिमिटेडको पिकअप गाडी प्रयोग गरिएको छ भने तरकारी खरिद बिक्रिमा रेडाका निर्प परियार, सञ्जिव थापा र नामिकुवाँ उद्यमशिल संस्थाका नल बहादुर बगाले सहजीकरण गर्दै आएका छन् । निषेधाज्ञा अवधी भरी कृषि एम्बुलेन्स सञ्चालन गरिने तानसेन नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update