
मिलन विश्वकर्मा
पाल्पा, पाल्पामा नेकपा एमाले पनि ११ औं संविधान दिवस मनाएको छ । उसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोगका सदस्य नारायणी शर्मा घिमिरे नेपालको संविधान र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले यो संविधान प्रगतिशील र अग्रगामी रहेको उल्लेख गरिन् । नेतृ घिमिरेले पुराना पुस्ताले नयाँ पुस्ताको भावना बुझेर अगाडि बढ्नुपर्ने भन्दै पुरानो पुस्ताको सिकाई अनुभव र योगदानलाई सम्मान गर्न सके मुलुक अझै बलियो हुने धारणा व्यक्त गरिन् । उनले दलको विकल्प नभएको समेत उल्लेख गरिन् ।
किशोर र युवाको मनोभावनालाई बुझेर दल र नेताले राजनीति गर्नुपर्ने कार्यक्रममा सहभागीले सुझाव दिएका छन् । जनप्रतिनिधिले जनताको आवाजलाई बेवास्ता गरेका कारण यो समस्या निम्तिएको उनीहरुको भनाई छ । अहिलेका नेता सच्चिन पर्ने भन्दै उनीहरुले घर–घरमा पुगेर पार्टीले आफ्ना योजना बारे जानकारी गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी २२ वर्षीय अमृत बस्यालले युवालाई पार्टीमा ठाउँमा दिनुपर्ने बताए । उनले आधुनिक मुद्दामा पार्टीले काम गर्नुपर्नेमा जोड दिए ।
अर्का युवा उत्सवी ढकालले अपराधिक घटनाबारे छानबिन गर्नुपर्ने बताए । सबै उमेर समूहकालाई राजनीतिमा जोड्नुपर्ने उनको भनाई छ । जेनजी शिर्षा पौडेलले संविधान छ तर अधिकार नपाएको गुनासो गरे । शिक्षा भए पनि रोजगारका लागि विदेशीन बाध्य भएको उनको भनाई छ ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले सबैभन्दा धेरैको सहभागितामा बनेको संविधान उत्कृष्ट रहेको बताए । संविधान खारेज गरेर होइन संशोधन गरेर जेन्जीको मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । अर्का सल्लाहकार परिषद् सदस्य पर्शुराम भट्टराईले परिवर्तन हुनु आवश्यक रहेको बताए । युवा पुस्ताका भावनालाई बुझेर राजनीति गर्नुपर्ने उनले बताए । निवर्तमान प्रतिनिधि सभा सदस्य नारायण आचार्यले अनुशासित ढंगले माग राख्नुपर्ने बताए । जिम्मेवार नेताले सुनेर माग सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेलेको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा करिब २०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।