Shittalpati
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’

पाल्पा, बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, श्रीनगर यातयाता व्यवसायीसँगको समन्यवय र सहकार्यमा यात्रुलाई लामो र छोटो दूरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरेको हो । यात्रु सहायता कक्षको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले शुभारम्भ गर्दै चाडबाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताए । उनले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरीसँगै सुनुवाइ हुने बताए । सबै पक्षको सहयोग र सहकार्यबाट नै यात्रु सहायता कक्षलाई व्यवस्थित, सुरक्षित, भरपर्दाे रुपमा सञ्चालन गर्न सकिनेमा सहायक प्रजि सुवेदीले जोड दिए । यात्रुहरुले पनि आफु माथी परेको अन्याय, अत्याचारको गलत काम कारवाहीका सूचना प्रहरी समक्ष गुनासो गर्न, बढी भाडा, सवारी साधन, अत्याधिक भारवहन, तिव्र गति भएको अवस्थामा प्रहरीलाई खबर गर्न उनले अनुरोध गरे । स–सानो लापरवाही हेरचेक्रयाईका कारण नै ठूला–ठूला घटना हुने भएकाले सही समयमा सही सूचना पाए जोखिमलाई न्युनिकरण गर्न सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपेन्द्र पञ्जीयार थारुले चाडपर्वमा हुन सक्ने सम्भावित ठगि र यात्रुको सरलताका लागि सहायता कक्षले सहयोग पु¥याउने बताए । उनले भने, “यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका लागि प्रहरी सेवा उपलब्ध गराउन चौबिसै घण्टा सेवा प्रवाह हुने गरी व्यवस्था मिलाइएको छ ।” एसपी थारुले यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाँडा लिएको विषयमा चेकजाँच गरी कारवाही प्रक्रिया अघि बढाइने बताए । उनले भने, “चाडपर्वमा विशेषगरी सवारीसाधन कम चल्ने र यात्रुको चाप बढी हुने गर्दछ यस्तो अवस्थामा मनपरी भाँडा असुल्ने, सामान छुट्न सक्छ, गन्तव्यमा हिडेका यात्रुहरु अलमलमा पर्ने जस्ता समस्या हुने भएकाले सहजताका लागि सहायता कक्ष स्थापना महत्वपूर्ण हुने छ ।”

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार कमलराज तिमिल्सेनाले गतन्व्यमा पुग्ने यात्रुहरुको सहजताका लागि हरेक वर्षजस्तै यस वर्ष पनि सहायता कक्ष स्थापना गरिएकोमा खुसी व्यक्त गरे । उनले सहायता कक्षलाई प्रभावकारी बनाई सेवा प्रवाह गर्न केन्द्रलाई सुझाव दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका प्रमुख विनोद भारती, श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का सञ्चालक किरण चित्रकार, पश्चिम यातायात व्यवसायी समिति पाल्पा शाखाका प्रमुख डोलराज भट्टराई, श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का कार्यालय प्रमुख भविन्द्र गौतम लगायतले यात्रु सहायता कक्ष प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश उत्प्रेतीको अध्यक्षता, कार्यक्रम संयोजक भविन्द्र गौतमको स्वागत, सचिव राजेश भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update