
आजदेखि नवरात्री प्रारम्भ भएको छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वाहन गरिन्छ । जांै अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
नवरात्रको पहिलो दिन आज घटस्थापना हो । नौ दिनसम्म शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने भन्ने बुझिन्छ । नवरात्रीको आफैमा महत्व रहेको छ । तर पनि यस समयमा हुने घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ बढिरहेको हुन्छ । नवरात्रीभरि नै शक्तिपीठहरू भक्तजनको गन्तव्य बन्ने गर्दछन् । यस दिन विशेषगरी रातमा प्रत्येक दसैँ घर तथा शक्तिपीठहरूमा कालरात्री गर्ने चलन छ । तान्त्रिक विधि अनुसार कालरात्री गर्ने विधि शास्त्रमा बताइएको छ । कालरात्रीका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ । शक्तिपीठहरूमा भने बोका राँगा लगायतका पञ्चबलि दिने चलन छ ।
दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडक साथ मनाउनुभन्दा पनि यसको संस्कृतिको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक र स्वास्थ्य अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ नभए र दशाको रुपमा परिणत गरिदिन्छ । तसर्थ यसलाई एउटा साँस्कृतिक महत्वको चाडका रूपमा स्वीकार गरी दसैँको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा ‘घाँटी हेरी हाड निल्न’ भन्ने उखानलाई दयंगम गरी मनाउन सकियोस् अनि मात्रै दसैँ साच्चिकै दसैँ बन्न सक्छ ।