Shittalpati
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो

रामचन्द्र रायमाझी
पाल्पा, सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् । अहिलेको बजेटको आकार गत वर्षको तुलनामा बढेर आएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको हो । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित धेरै क्षेत्रमा बाँडिएको बजेटले तत्कालका लागि नागरिकलाई उत्साहित बनाएको छ । सरकारले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ६१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ ।

विगतमा संघबाट स्थानीय तथा प्रदेशमा जाने रकमलाई सरकारले यो वर्ष भने बठ्याइपूर्वक छुट्याएको छ । जसले गर्दा चालु तर्फको बजेट कम भएको देखिएको छ । चालु खर्चको रकम कम देखिनुमा तल्लो सरकारलाई जाने रकम यसमा नजोड्नु हो । आगामी आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । यो वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ । विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ । सरकारले चालु आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड संकलन हुने लक्ष्य राखेको छ ।

सरकारले बजेटमा ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार रुपैयाँ पु¥याएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदरमा पाइने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिने, तरकारी, दूध र माछा, मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने बजेटमा प्रस्तुत गरिएको छ । लोकप्रिय कार्यक्रम अन्तर्गत सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र १६ वर्ष उमेर पुगेका विद्यार्थीलाई सीम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने र पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था पनि गरेको छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री पौडेलले गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको बताए । उनले स्वास्थ्य क्षेत्रमा एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको जानकारी गराए । सरकारले कोरोना संक्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको छ । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि पनि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । नयाँ संविधान बनिसकेपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको हो । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले बजेटलाई लोकप्रिय बनाउने अधिकतम प्रयास अहिलेको बजेटमा गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update