Shittalpati
पाल्पाको बहादुरपुरमा काँग्रेसको भातृसंगठन र टोल समिति गठन

पाल्पा, नेपाली काँग्रेस क्षेत्र नम्वर १ बहादुरपुरले भातृसंगठन र टोल समिति गठन गरेको छ । काँग्रेसले अगाडि सारेको “एक वडा एक प्रतिनिधि सांगठनिक अवस्थाको गरौं खोजिनीती, गाउँ जाँऊ,गाउँमै रमाऊ, एक व्यक्ति एक सदस्यता” बनाउने अभियान अन्तर्गत काँग्रेस क्षेत्र नम्वर १ बहादुरपुरले माथागढी गाउँपालिका ८ बहादुरपुरमा टोल समिति र विभिन्न भातृसंगठनहरुहरु गठन गरेको हो । काँग्रेसले वडामा रहेका टोल समिति र भातृसंगठनहरुलाई पूर्णता दिनुको साथै नयाँ समिति गठन गरेको छ । सोमबार पार्टी कार्यकर्तासँगको अन्र्तक्रिया तथा भेटघाट कार्यक्रमको आयोजना गरी समिति र भातृसंगठन निर्माण गरिएको काँग्रेसका वडा सभापति कमान सिं बारघरेले जानकारी दिए ।

काँग्रेस वडाले ८ टोल समिति र ९ वटा भातृसंगठन गठन गरेको छ । वडाले राष्ट्रिय मगर संघ, नेपाल महिला संघ, नेपाल तरुणदल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान संघ, आदिवासी जनजाती संघ, नेपाल भूतपूर्वक सैनिक संघ, नेपाल शिक्षक संघ लगायतका भातृसंगठन निर्माण गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य ज्ञानबहादुर गाहाँले नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएकाले निर्वाचनमा पराजय भोगे पनि सधैव जनताको घरदैलोमा पुग्ने बताए ।

उनले जनतामा समृद्धि र सुशासन भए मात्र देश र समाज बलियो र मजबूद हुने भन्दै गाउँ–गाउँमा जनतामा समृद्धि र सुशासनका लागि जिल्लाको सिंगो काँग्रेस लागेको धारणा व्यक्त गरे । कार्यक्रममा काँग्रेस क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति सन्तोष थापा मगरले संगठनलाई मजबूद बनाउन टोल समिति र विभिन्न भातृसंगठनहरु निर्माण अभियानलाई अगाडि बढाइएको बताए । उनले वडा तहबाटै संगठनलाई विस्तार गर्दै काँग्रेसले गरेका गतिविधिहरुलाई जनता समक्ष लैजान कार्यकर्ताहरुलाई आग्रह गरे । काँग्रेस क्षेत्र नम्वर १ का प्रदेश सभापति तथा संयोजक विष्णु कुमार थापाले वडामा पार्टीका गतिविधिलाई चलायमान गराउन सबै एक ढिक्का हुनुपर्नेमा जोड दिए । काँग्रेसका वडा सभापति कमान सिं बारघरेको अध्यक्षता, दिलबहादुर ढेंगाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update