Shittalpati
रामपुरमा शीतभण्डार सञ्चालनमा

रामपुर, पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उपज सुरक्षित साथ भण्डारण गरेर राख्न कृषि शाखाको परिसरमा शीतभण्डार निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारको सशर्त अनुदानमा तीन करोड २६ लाख ७६ हजार ५ सय ६६ मा बनेको शीतभण्डारमा फरकफरक क्षमताका पाँच कोठा छन् । दुईतले दश कोठासहितको प्रशासनिक भवन निर्माणाधीन र अपा·मैत्री शौचालय निर्माण भइसकेको छ । यहाँ उत्पादित आलु खेतीलाई ध्यानमा राखेर मुख्य भवन निर्माण सम्पन्न गरी शीतभण्डार अहिले चालु गरिएको नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले बताए । तीन सय मेट्रिक टन क्षमताको भए पनि हाल भने १ सय ५० मेट्रिक टन क्षमताको कृषि उपज भण्डारण हुने अनुमान लिइएको छ ।‘अहिले कृषकका घरघरमा आलु मात्र रहेको छ, अन्य उपज तत्काल भण्डारण गरिनुपर्ने अवस्था देखिएको छैन, आलुको बीउ भण्डारणका लागि कृषकले ल्याइराख्नुभएको छ’, कृषि शाखा प्रमुख पाण्डेय भने । नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्र मार्फत रम्भा गाउँपालिका १ हुँगीकी भगवती अधिकारीलाई वार्षिक दुई लाख पाँच हजारमा सम्झौता गरेको बताइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा लुम्बिनी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरेअनुसार रामपुरले पनि प्रस्ताव पेश गरेको थियो । यहाँ गोलभेँडा, काउली, बन्दा र लहरेबाली प्रशस्त उत्पादन हुन्छ ।

उत्पादित कृषि उपज सुरक्षित साथ राख्ने ठाउँको व्यवस्थापन नहुँदा कृषकले लागतअनुसारको मूल्य नपाएको अवस्था छ । बुटवल, भैरहवालगायत बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहन गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन शीतभण्डार निर्माण गरी नगरपालिकाले सञ्चालनमा ल्याएको हो । नगरपालिकाले दशवटै वडामा एक वडा एक उत्पादन नीति अनुरुप कृषि बाली शुरु गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिकामा मात्रै यस वर्ष आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै उत्पादन भएको छ । नगरभित्र करीब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको कृषि शाखाका प्राविधिक प्रज्वल केसीले जानकारी दिए । जिल्लामा यसअघि रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा आइसकेको छ । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update