
पाल्पा, विश्व संगीत दिवसका अवसरमा भोली पाल्पामा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पाल्पा शाखा र तानसेन नगरपालिका –७ वडा कार्यालयको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
दिवसको अवसर पारेर कमल पोखरी प्रभास क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्न लागिएको प्रतिष्ठान पाल्पा शाखाका अध्यक्ष कमल भट्टराईले बताए । उनका अनुसार प्रभासको कमलपोखरी क्षेत्रमा शनिबार भव्य कार्यक्रम हुँदै छ । कार्यक्रममा गायिका तथा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर, गायक तथा प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष भट्टराईले बताए ।
संगीत दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी मनाउने गरिन्छ । संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीतसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।