
आज भूमि पूजा अर्थात् भूमे पूजा । यो खास गरी मगर समुदायको चर्चित पर्व मध्ये एक हो । असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । देभभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ–आफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।
विशेषगरी पाल्पा, रोल्पा, रुकुम, सल्यान, दैलेख, जाजरको, दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ । हुन त यो पर्व असार १ गतेदेखि नै प्रारम्भ भए पनि आजको दिनलाई विशेष मान्ने गरिन्छ । भूमे पूजाको सम्बन्ध कृषि र बादलसँग रहेको छ । जेठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याई खेत, खरियानमा भूमे पूजा गरिन्छ । लेक अर्थात् बादलहरू रहने उच्च भूमिबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न र खेतीपाती राम्रो होस् भन्नका लागि भूमिको पूूजाले महत्व राख्दछ । सनातन दर्शनमा भूमिलाई गौ रूप समान मानिन्छ । त्यस कारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुल देवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ । भूमिको पूजा गरेमा वर्षभरि कुनै पनि विपत्ती नआउने विश्वास गरिन्छ । यो पर्वबाट भावनात्मक एकता कायम गरी सामूहिक सोचको विकास गर्न समेत मत्वपूर्ण भूमिका खेल्दछ । यो पूजालाई मगर समुदायले सांस्कृतिक चिनारीका रूपमा समेत लिने गर्दछन् । तर यो संस्कृति पुस्तान्तरण नहुँदा भने हराउँदै जान थालेको छ । यसर्थ प्रकृति र संस्कृतिसँग जोडिएको यो पूजाको महत्वलाई जोगाउन सके मात्र भूमि पूजा गर्नुको सान्दर्भिकता रहन्छ ।