तानसेन,शुक्रबार २५७० औ बुद्ध जयन्ती पाल्पासहित देशैभर मनाइएको छ । देशका विभिन्न बौद्ध तिर्थ स्थलहरुमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको हो । पाल्पाको तानसेनमा धर्मचक्र बौद्ध युवा संघले कल्पबृक्ष दान गरी बालबालिकाहरुलाई खुसी बनाउँदै बुद्ध जयन्ती मनाएको छ । कल्पबृक्ष दान पाएका बालबालिकाहरु खुसीले रमाउदै बुद्धको स्मरण गरेका छन् । उनीहरुले कल्पना गरे अनुसारको भौतिक बस्तुहरु, कल्पबृक्ष दान कार्यक्रमबाट प्राप्त गरे । बौद्ध पूर्णिमाको अवसरमा धर्मचक्र बौद्ध युवा संघ, धर्म चक्र महाविहार तानसेन पाल्पााले १२ बर्ष सम्मका बालबालिकाहरुलाई कल्पबृक्ष दानमा सहभागी गराएको थियो । दानविरहरुबाट प्राप्त दानहरु चिट्टा प्रणालीबाट संघले बालबालिकाहरुलाई वितरण गरेको हो । बालबालिकाहरु दान पाएपछि निकै खुसी भएका छन् । धर्मचक्र बौद्ध युवा संघले विगत ४ बर्षदेखी कल्पबृक्ष दान कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष बसन्तलाल बज्राचार्यले बताए ।
बुद्ध धर्ममा दान गर्नु निकै ठूलो पुन्य मानिन्छ । शुद्ध मनले गरिएको दान निकै पवित्र मानिन्छ । दान गर्नु नै अर्काे पक्षलाई सहयोग गर्नु सरह हो । बालबालिकाहरु नै शुद्ध मनका हुन्छन् । संस्थाले शुद्ध मनका बालबालिकाहरुलाई छनोट गरेर प्रत्येक बर्ष बुद्ध पूर्णिमाको दिन कल्पबृक्ष दान गर्दै आएको छ । दानविरबाट उठाएको दानहरुको व्यवस्था गरी बालबालिकाहरुलाई वितरण गर्नको लागि बौद्ध युवा संघ धर्मचक्र विहार पाल्पा विगत केही हप्ता देखी नै काम गर्दै आएको छ । बालबालिकाले कापी, कलम लगायतका स्टेशनरी, खेलकुदका सरसमान, दैनिक उपभोग्य बस्तु तथा लत्ता कपडा, खानेकुरा, सुन चाँदीका गरगहनासहित ५ रुपैयाँ देखी २० सम्मका नोटहरुको माला समेत कल्पबृक्ष दानमा पाएका छन् । सबै पक्षको सहयोग र सहकार्यबाट कल्पबृक्ष जस्तो महादान कार्यक्रम गर्न सफल भएको यसले बालबालिकाहरुमा बुद्ध शिक्षाको भावनामा बृद्धि भएको कल्पबृक्ष दान कार्यक्रम संयोजक दिप्ती शाक्य बज्राचार्यले बताईन् । बौद्ध भिक्षुहरुलाई विभिन्न पक्षबाट दान प्राप्त हुने गर्दछ । दान प्राप्त गर्न विहानै देखी बालबालिका तथा अभिभावकहरु लाईनमा बसेका थिए । विहान १० बजे देखी दिउँसो १ बजे सम्म १ हजार ५ सय भन्दा बढी बालबालिकाहरुले दान पाएका छन् । बैशाख पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्मजयन्ती, महामरिनिर्माण र बोधी ज्ञान प्राप्त भएको त्रि संयोगको पवित्रा दिन मानिन्छ । यो कार्यक्रमले बालबालिकाहरुमा बौद्ध शिक्षाको उत्प्रेरणा जगाउने छ । बुद्धजयन्तीको अवसरमा तानसेनमा रहेका विभिन्न विहारबाट विभिन्न किसिमका एक हप्ते कार्यक्रमहरु सञ्चालन गरिएको बुद्धजयन्ती मुल समारोह समितिका संयोजक मदनलाल बज्राचार्यले बताए । तानसेनमा बुद्धजयन्तीको अवसरमा महाचैत्य विहार टक्सारबाट बुद्ध रथयात्रा निकाली तानसेनको परिक्रममा गरिएको थियो । सोही दिन शान्तिका अग्रदुत भगवान बुद्धको स्मरण गर्दै शान्तीको कामना गरिएको छ । संसारभर विभिन्न किसमका द्धन्द्धहरु बढ्दै जादा बुद्धका शान्ती अर्ति उपदेशहरु शान्दर्भिक बन्दै गएका छन् । 


