Shittalpati
विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदै

पाल्पा, आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको साथ यो दिवस मनाउने तयारी छ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।

दिवसको उद्देश्य बिरामी, उनीहरुको परिवार, हेरचाह गर्नेहरू, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु हो । बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, बिरामी तथा समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश दिवसले दिएको छ । बिरामीको सही पहिचान, औषधिको सुरक्षित प्रयोग, संक्रमण नियन्त्रण, सुरक्षित शल्यक्रिया, उपचारका क्रममा प्रभावकारी सञ्चार तथा स्वास्थ्य सेवामा जोखिमको पहिचान र व्यवस्थापनलाई बिरामी सुरक्षाका महत्वपूर्ण पक्ष मानिन्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार स्वास्थ्य संस्थामा उपचारका क्रममा हुने सम्भावित त्रुटि तथा जोखिम घटाउन स्पष्ट कार्यविधि, नियमित अनुगमन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र घटना भएमा त्यसबाट सिक्ने प्रणाली आवश्यक हुन्छ ।

साथै, बिरामी र उनका परिवारले पनि आफ्नो उपचार, प्रयोग भइरहेको औषधि तथा स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिनु बिरामी सुरक्षाको महत्वपूर्ण हिस्सा हो । विश्व बिरामी सुरक्षा दिवसले स्वास्थ्य सेवामा हुने हानि रोकथामलाई प्राथमिकतामा राख्दै ‘सुरक्षित उपचार, सुरक्षित बिरामी’ को अवधारणालाई बलियो बनाउन जोड दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update