हामी सनातनी हिन्दूधर्म मान्नेहरु जीवनमा एक पटक भए पनि प्रायः भारतका धामहरुमा तीर्थ गर्न जाने चलन छ । २०५५ साल पौष २२ गते देखि २०५५ सालको फागुन २ गते सम्म बुवा आमाले पनि तीनधाम सहितका ४२ दिने लामो तीर्थयात्रा गर्नु भएको रहेछ । तर अहिले बुवा हामीसँग हुनुहुन्न । उहाँ ब्रह्मालिन हुनुभएको ४५ दिनपछि बुवाको सानो डायरी फेला पारे । आमासँग उतिबेलाको तीर्थयात्रा बारे जिज्ञासा राख्दा डायरीमा भएका विवरणसँग मेलखाने स्मरण ५० प्रतिशत जति मुखाकार सुनाउनु भयो । त्यो डायरीमा बुवा आमाले तीर्थयात्रा गर्दाको समयमा कहिले कहाँ कहाँ के–के दर्शन गरियो भन्ने संक्षिप्त टिपोट गर्नु भएको रहेछ । उसो त ब्रद्रि , केदार अलि पहिले नै जानु भएको रहेछ । व्यक्तिगत विषय भए पनि बुवाको सम्झनामा बुवा आमाको तीर्थयात्रा डायरी सार्वजनिक गर्न मन लागेर आयो । यो डायरी पढ्दा तत् तत् ठाउँका बारेमा जान नसकेकाहरुका लागि थोरै भए पनि जानकारी मिल्ने ठानेर सार्वजनिक गर्ने जमर्को गरेको छु । अबको विषय डायरीबाट जस्ताको तस्तै ।
“२०५५ साल पौष २२ गते बुधबार बिहान ७ बजे हर्दिनेटा गाविस वाड नं.३ धरम्पानी रानीपोखरा निवासी म थानेश्वर पन्थ पत्नीसहित तिनधाम तीर्थ जान, गंगा नदी, सागर स्नान ईत्यादि गर्न , दान धर्म गर्नको लागि घरबाट साईत पाइला गरियो । तीर्थ जाने साथीहरु भक्तिराम काफ्लेका माईला छोरा कुलानन्द काफ्ले र निजकी श्रीमती, मैनडांडाका पाण्डे माइला र निजकी जहान, मैनडांडाकै टंकनाथ उपाध्यका जोडी, रुञ्जाकोटका पोष्टराज पौड्याल ,गैरावारीकी हुंगेल्नी भाउजु समेत । बस रिजर्भ गरि लैजाने ल्याउने ठेकेदार मैनडांँडाका कान्छा पाण्डे ढुण्डिराज पाण्डेलाई एक जनाको नेपाली रु ७२०० शुरुमै तिरियो । श्रृङ्गा खिर्रे देउरालीबाट बसमा चढियो। श्रृङ्गाबाट रिडी तानसेन बुटवल हुँदै कृष्णनगर पुगियो । दाङबाट आई मिसिएका १८ जना समेत गरी ५४ जना भई पौष २२ गते राती १० बजे कृष्णनगरबाट बड्नी , प्रसवानी , कनक भवन हनुमानगडी युपि प्रान्त हुँदै २३ गते बिहान अयोध्यापुरी पुगियो । सरयू गंगा स्नान गरी अयोध्यापुरी वाल्मिकी रामायण भवन , सीताराम, लक्ष्मणको दर्शन ,लवकुश ,वाल्मिकी ऋषीको दर्शन गरियो । पौष २४ गते इलाहवाद हुँदै प्रयाग क्षेत्रमा पुगियो । गंगा जमुना सरस्वतीको संगम प्रयागराजमा स्नान गरियो । अक्ष्ययवटको दर्शन गरियो । पौष २५ गते बिहान काशी भागीरथी मनिकर्णिका घाटमा स्नान गरि तर्पण, पीण्डदान, दान गरियो । सङ्कटमोचन हनुमान र ५ पाण्डव मुर्ति दर्शन पनि गरियो । काला भैरवको दर्शन , विश्वनाथ ज्योतिर्लिङ्को दर्शन पनि भयो । २५ गते वनारसमा नै बसियो । २६ गते त्यहाँदेखि प्रस्थान गरियो । बोधगया दर्शन गरि साँझ गयामा बाँस भयो । २७ गते बिहान फल्गु नदी स्नान गरि फल्गु गयामा बिष्णु पादुकामा तर्पण ,पीण्डदान गरियो । फल्गु नदी तरी पारी सीता पादुका दर्शन भयो । त्यस पछि त्यंही धर्मशालामा बाँस बसियो । राती नै ४ बजे बसमा बसी २८ गते दिउँसो पिशाचेश्वर कुण्ड पुगि कुण्ड स्नान गरियो । बैध्यनाथ धाममा रावणले तपस्या गरी शिवज्योतिर्लिङ् लंका लैजान उठाएकोमा पिशावले अत्याउदा भूमिमा राखि पिशाव गरिसके पछि उठाउन नसकि छोडेर गएको शिवज्योतिर्लिङ् दर्शन गरियो । त्यस पछि बासुकी नाग दर्शन , पञ्चमुखी हनुमानको दर्शन भयो । पौष २९ गते वङ्गाल कलकत्ता पुगि भागिरथी सागर स्नान गरि कालीमाईको दर्शन गरि कलकत्ता शिविरमा बांस भयो । पौष ३० गते नाम खानामा बस रोकी पैदल यात्रा गर्दै लाइनमा उभिइ वडो कष्टसाथ जहाजमा बसियो । जहाज बाट उत्री १ जनाको भारु ५० जहाज भाडा लाग्यो । पारी बस भाडा १ जनाको भारु १६ तिरियो र गंगा सागर दर्शन गरियो । त्यस दिन गंगा सागरमा बास भयो । माघ १ गते संक्रान्तिको दिन गंगा सागर स्नान गरि श्रीकपिल मुनी कपिल भगवानको दर्शन , ईन्द्रदेव , घोडा देवताको दर्शन ईत्यादि गरि त्यहाँदेखि प्रस्थान भै मोटर भाडा १ जनाको २४ तिरियो र जहाज चढियो । जहाज भाडा तिरि जहाजबाट उत्री मोटर चढ्नु प¥यो । मोटर भाडा १ जनाको २४ तिरीयो र नाम खाना आइयो । सांझ ५ बजे प्रस्थान भै रातारात बङ्गाल खाडी हुँदै माघ २ गते उडिसा पुगियो । सुवर्ण गंगामा स्नान गरियो । खानपान भयो र त्यहाँदेखि प्रस्थान गरि माघ ३ गते वैतर्णी नदी गंगा स्नान दान ईत्यादि गरि भुवनेश्र्वरको दर्शन गरियो । माघ ३ गते जगन्नाथ धाम धर्मशालामा बाँस भयो । साँझै श्रीजगन्नाथ भगवानको र श्रीवलभद्रको र श्रीसुभद्रादेवीको जगन्नाथपुरीको आरती दर्शन गरियो । साँझ प्रसाद लियो । माघ ४ गते बिहानै उर्लेका रमाइला भेल सागरमा स्नान गरि जगन्नाथ देवालय जगन्नाथको र साक्ष्यात झै परमात्माको दर्शन गरियो र त्यही धर्मशालामा बाँस भयो । ४ गते पनि बिहान सागर स्नान गरि जगन्नाथ जी र साक्षी गोपाल भगवानजीको दर्शन गरि हिडियो र ६ गते आन्द्र प्रदेश हुँदै ७ गते गोदावरी नदी स्नान गरि साँझ बालाज्यूको धर्मशालामा बाँस भयो । व्यङ्लोर अस्पतालमा विरामी परेकाको उपचार भयो । माघ ८ गते श्रीपञ्चमीका दिन तिरुपती भगवानकै बस चढी १ जनाको आवतजावत भारु ३० तिरी तिरुपती बैकुण्ठ श्रीभगवान बिष्णुले स्वयम् स्नान गर्ने ८ कोणे पोखरीमा स्नान गरियो । पितलै पितलको वार समाइ कोठाको लागि लाइन लागियो । कोठा नखुलेकाले ३ घण्टा सम्म सिटमा बसि स्याउ ,सुन्तला , चियापान गर्दै रमणीय भिडियो हेरियो । बल्ल कोठा खुल्यो र लाइनमा बसि श्री बैकुण्ठधाम , श्रीबैकुण्ठनाथ तिरुपती नाम गरिएका भगवान विष्णुले दर्शन दिनुभयो र नेत्र दर्शन गरियो । श्री बैकुण्ठ धाम सुनै सुन , हिरामणी ज्वाहरले झलझलापुरी अर्को कोठा मन्दिरमा कङ्कण ,किङ्किणी, हिरामणी ज्वाहर पहिरेकी श्री महालक्ष्मीमाताले दर्शन दिनु भयो । प्रख्यात तिरुपती बालाज्यूको तल धर्मशालामा आई भोजन गरि बास गरियो ।
माघ ९ गते तामिलनाडु ठूलो ४ कोणे १० सिडि भएको पोखरीमा स्नान गरि शिवकाञ्चि, विष्णुकाञ्चीपुरी हरिहर भगवानको दर्शन पाइ प्रस्थान गरि कैलाश जाने बाटोमा बस अढाई ३५० सिडी चढी गौतम ऋषीको तपस्यादेखि प्रशन्न भई प्रकट हुनु भएका शिवसाक्छी नामले प्रख्यात अग्लो चुचुरोमा रहनु भएका त्र्यम्बकैश्र्वर ज्योतिर्लिङ शंकर भगवानको दर्शन गरियो । माघ १० गते कावेरी गंगा स्नान गरि सुन चांदिले बनेको १० तले गेट भएको रङ्गनाथ शेषशैया बिष्णु भगवानको दर्शन गरियो । ११ गते रामज्यूले लंका पुगि रावणादी राक्षस संहार गर्न सकु भनि सेतु वाधनको लागि ॐ रामेश्वरको तपस्या गरि प्रकट भएका ॐ रामेश्वर ज्योतिर्लिङ्गको दर्शन गरियो । सागर र २२ कुण्ड स्नान पनि गरियो । शिवजीले मोहनीरुप बिष्णुको दर्शन पाउदा कामउत्तेजना भई स्खलन भएको शिव तेज विर्य सप्त ऋषीले देखि अञ्जनी कुमारको कानमा राखिदिदा अञ्जनी कुमारको कानवाट पैदा भएका हनुमानको पनि रामेश्वरमा दर्शन भयो । १२ गते प्रस्थान गरि १३ गते कन्याकुमारी भगवतीको दर्शन गरियो । १४ गते फूलैफूलको वासनादार ८ कोणे पोखरीमा स्नान गरि ११ तले पत्थरै पत्थरले बनेको मीनाक्क्षीमाईको आरती सहित दर्शन अहो भाग्यले पाइयो । १५ गते मद्रासलाई छोड्दै १६ गते महाराष्ट्र हुँदै १७ गते पूर्णिमाका दिन गोदावरी गंगा स्नान गरी कालाराम सेतारामको दर्शन पश्चात पञ्चवटिमा पुगि लक्ष्मण रेखा र सीता हरण स्थान हेरियो । त्यहाँदेखि प्रस्थान गरि लेखै लेख हेर्दै पहरा पहरा हुँदै भ्रमण गरि बृक्ष मुनि बास भयो । १८ गते बास बसेको ठाउँबाट हिडि वम्वई सहर पुगियो । पानी ट्याङ्कीको माथि जमिन गराई बनाएको फूलबारी हेरियो । महालक्ष्मी भगवतीको दर्शन गरियो । अनेक किसिमको वम्वई सहर अलिअलि हेरि १९ गते फिर्ता भई २० गते गुजरात हुँदै सोमनाथ पुगि सागर र त्रिवेणी स्नान गरि पत्थरै पत्थरको ११ तले शिवशंकर सोमनाथ ज्योतिर्लिङ्गको दर्शन भयो । ११ तले पत्थरै पत्थरले बनेको सुन र चाँदीको बिष्णु मन्दिर लक्ष्मीनारायणको दर्शन भयो । मुरलीधर राधाकृष्ण मन्दिरमा राधाकृष्ण भगवानको दर्शन पाइयो । कृष्ण पादुकामा व्याधाको वाण लागि कृष्ण आफ्नो धाम फर्कनु भएको स्थान पनि दर्शन भयो । त्रिवेणी गंगा किनारमा यदु वंशी आपसमा लडि मोक्ष गएको स्थान पनि दर्शन भयो । शंकराचार्य दर्शन पनि भयो ।
२२ गते भुवनेश्वर प्रस्थान गरि सागर स्नान, बौध्दावतार , सिद्धेश्वर महादेव , सूर्यनारायण मन्दिर दर्शन गरियो । ११ तले पश्तरले बनेको मन्दिरमा श्रीभुवनेश्वर ज्योतिर्लिङ्ग, पित्तलको ठूलो बसाह दर्शन गरियो । २३ गते सागरकुण्ड स्नान गरि मुलद्वारका पुगि राधाकृष्ण , सीताराम , शिवशक्ति पार्बती सहित र गणेशको , वागेश्वरी भगवतीको दर्शन गरि द्वारकामा बास गरियो । २४ गते गौमती गंगा सागर स्नान गरि रुक्मिणी , त्र्यैलोकेश्वर ज्योतिर्लिङ्ग शिवशंकर, द्वारकाधिश मन्दिर तथा द्वारका राधाकृष्ण भगवानको दर्शन गरि धर्मशालामा बास गरि सांझ कृष्ण परमात्माको आरती दर्शन गरियो । २५ गते सिन्धु गंगा स्नान गरि जहाजमा बसि सागरका माझमा भेटद्वारकामा मुख्य मन्दिर शंङ्खोधर कृष्णमुरारी र सुदामा कृष्णभेट कनिका पाहुर ईत्यादि दर्शन गरियो । पश्चात पुस्करमा गई बास बसियो । पुस्करमा बिहान ठूलो पोखरीमा स्नान गरि चतुर्मुखी ब्रहाजीको दर्शन गरियो । ब्रह्माजीको मन्दिर पुस्करमा मात्र छ , अन्यत्र छैन रे । राजस्थानको राजपुर सहरबाट अढाइ घण्टामा पुस्कर पुग्न सकिन्छ । शिव दर्शन मन्दिर भित्र गई तिन तला मुनि गुप्तेश्वर ज्योतिर्लिङ्ग दर्शन भयो । साय कालमा धेरै अग्लो चुचुरोमा साबित्री र सरस्वतीको अनि अर्को चुचुरोमा गायत्री माताको दर्शन गरियो । २७ गते बिहान बृन्दावनमा पण्डाका साथमा गई यमुना गंगामा स्नान, दान गरियो । शाखा तिरुपती १२ मनको अग्लो सुनको ध्वजा पताखा , ५ मन सुनको सुवर्णेश्वर महादेवको शिवलिङ्मा ५ मुरी चामल र ५० लिरटर दुध चढ्ने तिन हजार भक्त जनले कीर्तन , भगवानको स्तुति गर्ने ग्वाला ग्वालिनीहरुको भोजन हुने ईत्यादि दर्शन गरियो । हा हा हा गर्दै हास्दै खुसी हुँदै बाकेविहारी भगवानको पाउमा परि दर्शन गरियो । २७ गते नै गोकुलमा गै गोकुलका ग्वाला ग्वालिनले बिक्रि गर्ने ध्यू , कुराउनी , दहि किनी राधा कृष्णमा चढाई दर्शन गरि दहि , कुराउनी भोजन गरियो । २७ गते साँझ नै मथुरामा रमणिय मुरलीमनोहर राधा कृष्णको दर्शन , झाँकी पनि हेरियो । २७ गते राता रात हिडि आग्रामा आई गेडमा बास भयो । २८ गते आग्रा हेरि दिनभरि वजार गरियो । साझ प्रस्थान गरि युपि नैविसारण्य क्षेत्रमा बिहान पोखरीमा स्नान गरि ॐकारेश्वर ज्योतिर्लिङ,गणेशजीको मन्दिर, शाखा बद्रिनाथ , शाखा जगन्नाथ दर्शन , गोमति स्नान , शंकर हनुमान , लक्ष्मीनारायण दर्शन पनि गरियो । २९ गते नानपारा हुँदै फर्कि दाङ तिरका साथीहरुसँग विदा भई माघ ३० गते साँझ रिडीमा बास बसियो । फागुन १ गते रिडीमै बसी कालिगण्डकी स्नान हृषीकेश दर्शन गरियो । २ गते बिहान महाशिवरात्री गण्डकी नुहाई साझमा आ–आफ्ना गृहमा पुगियो । यात्राका स्मरणहरुलाई जस्ताको त्यस्तै यो डायरीमा उल्लेख गर्नु हुने थानेश्वर पन्थलाई हार्दिक आभार व्यक्त गर्दछु ।

