
भैरहवा, रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
जिल्लाको खेल क्षेत्रलाई चलायमान बनाउनुको साथै क्रिकेट खेललाई थप उचाईमा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष तथा क्लबका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘क्लबले विगतदेखि क्रिकेट प्रतियोगिता गराएर खेलाडी उत्पादनमा टेवा पु¥याइरहेको छ’, उनले भने, ‘यो प्रतियोगिताले रुपन्देहीको क्रिकेट विकास र खेलाडी उत्पादनमा एउटा ईंटा थप्ने काम गर्ने हाम्रो विश्वास छ । प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी रहेका छन् ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १ सय ५ रनको योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए । मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जय प्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिए । प्रोफेसनलका जय प्रताप यादव प्लेयर अफ द म्याच बने । त्यस्तै दोस्रो खेलमा टीम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टीम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरे । खेलमा टीम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए ।
सोमबारसम्म हुने प्रतियोगिताको विजयी टिमले ८० हजार र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक रहेको भैरहवाको एशियन बुद्ध होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले होटलको चौथो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरिएको जनाए । ‘होटलले सधैं विभिन्न कार्य गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ’, उनले भने, ‘मुलुकलाई विश्वमा चिनाइरहेको क्रिकेटलाई प्रवद्र्धन गर्न पाउँदा थप खुशी भएका छौं ।’ बाहिरी खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै क्षेत्रका भए पनि मान्यता दिइने खेल संयोजक विष्णु कटारियाले जानकारी दिए । प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए ।