Shittalpati
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

पाल्पा, सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान र सिद्धबाबा बीचमा ढुङ्गासहित पहिरो खसेपछि विहीबार रातीदेखि अवरुद्ध रहेको सडक आज विहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएपछि अलपत्र सयौं यात्रु गन्तव्यतर्फ लागेको स्थानीय विपिन आचार्यले बताए । वर्षा निरन्तर भएको र रातको समयमा सडक खुलाउन नसकिएपछि आज विहान १० घण्टापछि मात्र सडक एकतर्फी रुपमा सञ्चालन गरिएको हो । दोभान प्रहरी चौकीदेखि तल्लो सिद्धबाबासम्म दर्जनभन्दा बढी स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । दोभान प्रहरी चौकीका अनुसार सडक डिभिजन र सुरुङमार्ग आयोजनाअन्तर्गत चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको डोजर तथा एक्स्काभेटर लगाएर सडक खुलाइएको हो । पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update