Shittalpati
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा

गुल्मी,कोरोना संक्रमण उच्च भएपछि गुल्मीमा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १८ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

शुक्रबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो समय २०० बढी सक्रिय संक्रमित भएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समय अवधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । कसैले यो आदेशको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ । निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाइने छैन । सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको छ । विद्यालय, शिक्षालय, तालिमकेन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन, सुनचांदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु बन्द अवस्थामा रहने छन् । मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा बाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु बन्द गर्ने निर्णय गरिएको छ । एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ सामग्री बोकेका सवारी साधनहरु, क्वारेन्टिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, प्रेस पास तथा परिचयपत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक गुल्मी जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाउने तर गुल्मी जिल्ला भएर अन्य निषेधाज्ञा जारी नभएका जिल्ला जाने सवारीसाधनहरु गुल्मी जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न दिइने निर्णय भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।

निर्माण तथा खाद्य सामग्रीका सवारी साधन सञ्चालन हुन पाउने छन् । विवाह, व्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागि हुन नपाइने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ । औषधी एवं स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने छन् । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा १ पटकमात्र विहान ७ बजेबाट ९ वजेसम्म मात्र सञ्चालन गर्न पाउने छन् । होटल तथा रेष्टुरेन्टहरुले विहान १० बजे बाट दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले आग्रह गरेको छ । स्वास्थ सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छन् ।

सरकारी कार्यालय बन्द नगरी आन्तरिक कामहरु गर्न जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले आग्रह गरेको छ । बैंक तथा वित्तिय संस्थाले विहान १० बजे देखी दिउँसो १२ बजेसम्म सेवा सञ्चालन गर्न पाउने छन् । अत्यावश्यक उपभोग्य तथा खाद्यवस्तुको आपूर्तीको व्यवस्था गुल्मी उद्योग वाणिज्य संघ तथा च्याम्बर्स अफ कमर्सले मिलाउने छ । आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्न सक्ने छन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनको लागि सवारी पास जारी नहुने समेत बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update