Shittalpati
सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौ,गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएको सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । मन्त्री बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै विहिबार ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको समेत जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरी सुरु भएको प्रतिनिधि सभामा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाको जानकारी गराएका थिए । सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएको थियो । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । अडियो सार्वजनीक भएसँगै बाँस्कोटाको चौतर्फी बिरोध हुनुको साथै राजीनामाको माग गरिएको थियो । सार्वजनिक भएको अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन् । उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला कि । आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाईंलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।’ यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘त्यो भनेको कति हुन्छ ? मिश्रले भने, ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि । आउट अफ ट्याक गइयो भने ।’

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update