Shittalpati
रामपुर–कपुरकोट सडकको काम धमाधम

कृष्ण पोखरेल
पाल्पा, लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक निर्माणको काम धामाधम भइरहेको छ । प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखी कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी रामपुर–कपुरकोट सडक निर्माणको कामलाई धमाधम अगाडि बढाएको हो । सडक निर्माणको कामलाई चुस्त दुस्त बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पहाडी ३ जिल्ला, पाल्पा, अर्घाखाँची र प्युठानमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । अहिले पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पाको विभिन्न खण्डमा सडक निर्माणको काम धमाधम भईरहेको छ । लुम्बिनी प्रदेशको सिमाना पाल्पाको रामपुरदेखि कर्णाली प्रदेशको सिमाना सल्यानको कपुरकोटसम्म सडकको लम्वाई २ सय ९० किलोमिटर रहेको छ । यो सडक पाल्पाको रामपुरबाट निस्दी वेलडाँडा, सिलुवा, विरकोट, ताहूँ, हुमिन, चिदिपानी, आर्यभञ्ज्याङ्ग, बर्तुङ्ग, होलाङ्दी, वाईपास हुँदै, ढुङ्गाखानी, हार्थाेक, बतासे, छहरा, तिनगिरे, हुँदै पुर्वी अर्घाखाँचीको पणेनामा जोडिन्छ । पणेना, पोखराथोक, दुर्गाफाँट, पाली, अड्गुरी, घुम्ति, सन्धिखर्क भुमिकास्थान हुँदै प्युठान जिल्लामा जोडिन्छ । प्युठानको स्वर्गद्धारी, मालरानी हुँदै रोल्पा जिल्लामा सडक पुगेको छ । रोल्पाको दहवनदेखि लिगलपाली हुँदै, यो सडक लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको पश्चिम सिमाना सल्यानको कपुरकोट गाउँपालिकामा जोडिने छ । रामपुर कपुरकोट सडकको सबैभन्दा धेरै भाग पाल्पा जिल्लामा पर्दछ,भने सबैभन्दा थोरै भाग रोल्पामा पर्दछ । पाल्पा खण्डमा १ सय ५ किलोमिटर, अर्घाखाँचीमा ८० किलोमिटर, प्युठान जिल्लामा ७० किलोमिटर, रोल्पा जिल्लामा ३५ किलोमिटर लम्बाई पर्दछ ।


रामपुर कपुरकोट सडक पाल्पाका १० वटा पालिका मध्ये ९ वटा पालिका, रामपुर, निस्दी, पुर्वखोला, रम्भा, माथागढी, बगनासकाली, तानसेन, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका भएर सञ्चालन भएको छ । अर्घाखाँची जिल्लामा पाणिनी गाउँपालिका, सन्धीखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका भएर यो सडक सञ्चालनमा आएको छ भने प्युठानमा जिल्लामा मालरानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका हुँदै रोल्पाको दहवन लिगलपाली हुँदै सल्यानको कपुरकोट गाउँपालिकामा यो सडक टुङ्गिएको छ । अहिले रामपुर–कपुरकोट सडकको ट्रयाक भने सञ्चालनमा आईसकेको छ ।
अहिले रामपुर कपुरकोट सडकमा सवारी साधनबाट ओहोर दोहोर गर्न सकिन्छ । आगामी आर्थिक बर्ष २०७८ र ०७९ को असार मसान्तसम्म रामपुर कपुरकोट सडक खण्डको २ सय ९० सय किलोमिटर सडक पिच गरिसक्ने भौतिक पुर्वाधार विकास मन्त्रालयका यातायात पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डेले बताए । आगामी बर्षसम्म ३ अर्व रकम खर्च हुने छ । यो सडककको राईट अफ वे सेन्टर प्वाईन्टबाट दायाँ बायाँ पन्ध्र पन्ध्र मिटर कायम गरिएको छ । दोस्रो चरणमा रामपुर कपुरकोट सडकको २ सय ९० किलोमिटर क्षेत्रमा रहेका घर बस्तीहरुलाई उचित मुआव्जा सहित हटाउने, ओटासिल पिचको आयु सकिएका स्थानमा बाटो फराकिलो बनाउने गरी गौरवको योजनाको काम छनौट गरिएको छ । दोस्रो चरणको लागि १५ अर्व रुपैयाँ बजेट खर्च हुने अनुमान प्रदेश सरकारले गरेको मन्त्रालयका यातायात पुर्वाधार निर्देशनालयका निर्देशक. पाण्डेले बताए । यो सडक अन्तर्गत तानसेन ढुङ्गाखानी क्षेत्रमा ४ करोड रुपैयाँमा सडक पिचको काम भईरहेको छ । आगामी बर्ष हार्थाेक बतासे छहरा तिनगिरे क्षेत्रमा सडक पिचको लागि डिपिआर अन्तिम चरणमा पुगेको सडक पुर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर प्रेमनारायण बस्यालले बताए । यो सडक पुर्वी पाल्पादेखि पश्चिम पाल्पासम्म पुग्ने छ । अर्घाखाँचीमा सन्धिखर्कदेखि प्युठान क्षेत्रको ढाकावाङ्ग क्षेत्रदेखि चुदाटारी क्षेत्रको १८ किलोमिटर क्षेत्रमा सडक पिचको काम भईरहेको सडक पुर्वाधार विकास कार्यालय अर्घाखाँचीका ईन्जिनियर विनोद चौधरीले बताए । अर्घाखाँचीको मध्य भाग भएर सञ्चालन हुने यो सडक सालझण्डी ढोरपाटन, अर्घाखाची गोरिसिङ्गे सडकसँग जोडिएको छ । यो सडक पुवी अर्घाखाँचीको पाणिनी गाउँपालिका र पश्चिम भुमिकास्थान हुँदै प्युठानमा जोडिएको छ । प्युठानमा यो सडक ३ वटा पालिका भएर रोल्पा सँग जोडिएको छ ।


प्युठानको ७० किलोमिटर सडकको अधिकाश क्षेत्रमा सडक पिच भएको हाल ५ किलोमिटर क्षेत्रमा पिचको लागि आवश्यक सडक चौडा, माटो कटान, टेवा पर्खाल, नाली कटानको काम भईरहेको सडक विकास पूर्वाधार विकास कार्यालय प्युठानका प्रमुख ईन्जिनियर नविन श्रेष्ठले बताए । रामपुर–कपुरकोट सडकखण्डको रोल्पाको दहवनदेिख लिगलपानीसम्मको साढे ११ किलोमिटर सडकको लागि २४ करोड रुपैयाँमा सडक निर्माणको लागि ठेक्का प्रक्रिया शुरु भएको छ । यस सडक योजनाको मुख्यमन्त्री शंकर पोखरेलले यपरिकल्पना गरेका हुन । गत आर्थिक बर्ष २०७६/०७७ बाट शुरु भएको आयोजनाको पहिलो चरण २०७८/०७९ मा सम्पन्न हुने छ, दोस्रो चरण २०८५ सालमा सम्पन्न हुने गरी आयोजना समय निर्धारण गरिएको छ । प्रदेश सरकारले सडकको स्तरउन्नती गरी आगामी ५ बर्ष भित्र डेडिकेटेट डबल ल्याण्डको सडक सञ्चालन गर्ने गरी काम अगाडि बढाएको मुख्यमन्त्री शंकर पोखरेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update