Shittalpati
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू अहिले दंग छन् । उनीहरुले विद्यालयमा खाजा खाना पाईने भनेर नै निमयित विद्यालय जान थालेका छन् । यस अघि भोक लाग्यो भन्दै छुट्टि माग्ने गरेका विद्यार्थीहरु अहिले विद्यालयहरुले खाजा दिन थालेपछि नियमित विद्यालय उपस्थित हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकहरु बताउँछन् । रम्भा गाउँपालिकाले गाउँपालिका भित्र रहेका कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी,अभिभावक सुखी भएका छन् । संघीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको छ । खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

रामपुर नगरको रामतुल्सी माविका विद्यार्थीहरु पनि खाजाको व्यवस्था भएसँगै नियमित विद्यार्थीहरु विद्यालय जाने गरेका छन् । तल्लो कक्षामा अध्ययनरत बालबालिकाको खाजाको व्यवस्थापन अभिभावक आफैले गर्ने व्यवस्था विद्यालयले मिलाएपछि विद्यार्थीहरु सधै विद्यालय जाने गरेका छन् । स्थानीय अभिभावक सुनिता राना भन्छिन् ‘बच्चालाई आफैले बनाएको ताजा खाजा खुवाउन पाउँदा अत्यन्त सुखी लागेको छ ।’ पैसा दिएर पढाउदा बच्चाले जङ्ग फूड चाउचाउ खाने गर्दा सधै विरामी हुने गरेको र अहिले घरमा नै बनाएको खाजा खुवाउँदा भने स्वस्थ रहेको रानाको भनाई छ । विद्यालयले नै फरक दिन फरक खाजा खुवाउने पनि गर्दछ । तर यस विद्यालयमा करिव ६ सय विद्यार्थी रहेकाले खाजा बनाउन समय नै नभएकाले अभिभावक आफै खाजा बनाएर ल्याउने गर्दछन् । फरक दिन फरक प्रकारको खाजा ल्याउने गरेको विद्यालयका प्र.अ बालकृष्ण लम्साल बताउछन् । विद्यालयमा जङ्ग फूड त निषेध नै छ तर पनि यहाँ लुकुछिपी प्रयोग हुन्थ्यो तर खाजाको व्यवस्थापन आफैले गर्ने भएपछि पूर्ण रुपले हराएको प्र.अ लम्साल बताउछन् ।


तल्लो कक्षाका बच्चालाई अभिभावक आफै खुवाउने माथिल्लो कक्षामा विद्यार्थी आफै घरबाट ल्याएको खाजा खाने गर्दछन् । बच्चालाई आफै खाजा खुवाउन आउदा बच्चाको पढाईको अवस्थाको बारेमा पनि अभिभावकले जान्ने र सुन्ने अवसर पाउने हुँदा अत्यन्त सजिलो भएको छ । अर्को तर्फ बच्चा पनि अनुशासित भएको अभिभावक सर्मीला श्रेष्ठले आफ्नो अनुभव सुनाइन् । आफ्नो बच्चा घरकै खाजा भन्दा प्रारम्भिक अवस्थामा केहि अभिभावकहरुलाई असहज भएको थियो तर विस्तार विस्तार बानी लाक्दै गयो सहज पनि भयो । विद्यालयले हप्ताको ६ दिन ६ प्रकारको खाजाको तालिका बनाएको छ । त्यहि तालिका अनुरुप खाजा ल्याउने गरेको अभिभावक रिना खातुनले बताइन् । तिनाउ गाउँपालिकाले पनि दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको संख्या उत्साहजनक रहेको सम्बन्धित विद्यालयहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update