Shittalpati
कौसी खेती गर्न जुटे तानसेनका महिला

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय सहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहरवासीको आकर्षण बढ्न थालेको छ । आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेपछि अधिकांशले घरको कौसीमै भए पनि धेरथोर तरकारी लगाउन थालेका छन् । सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन समेत मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो सहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय अधिकांस सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन थालेका छन् । सहरमा बढ्दै गएको कौसी खेतीको रुचीलाई देखेर तानसेन नगरपालिका ४ का महिलाहरु समेत यसमा जुटेका छन् । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन पनि हुने र सानो परिवारका लागि बेला–बेला आफैंले उत्पादन गरेको तरकारी पनि खान पाइने भएपछि यहाँका महिलाहरु कौसी खेतीतर्फ जुटेका हुन् । तानसेन नगरपालिका –४ भित्र रहेका ११ वटा टोलविकास संस्था र एक आमा समूहका महिलाहरु यस सम्बन्धी तालिम लिएर कौसी खेती गर्न कम्मर कसेर लागेका छन् । सिल्खानटोल विकास संस्था –२ को समन्वयमा वडा कार्यालय र आर्थिक विकास संघ (रेडा) को आर्थिक सहयोगमा वडाका महिलाहरुलाई तालिम, विउविजन र कृषि सामग्री उपलब्ध गराइएको छ । तालिम लिएपछि आफुहरुले कौसीमा तरकारी खेती गर्ने उनीहरुले बताएका छन् ।

कौसीको सानो क्षेत्रमै गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर खेती गर्न सकिने भएपछि आफुहरु यसतर्फ लागेको महिलाहरुको भनाई छ । वडाका महिलाहरुलाई आईतबार कौसी खेतीका लागि तालिम समेत दिइएको छ । एक दिने तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका छन् । तालिमकोउद्घाटन गर्दै नगर प्रमुख शाहीले कृषक लक्षित विभिन्न तालिम नगरपालिकाले गर्दै आएको बताए । आवश्यक तरकारी कौसीमै खेती गरी कम जग्गामा बढी उत्पादन गर्ने विकल्पमा तानसेन सरकार उन्मुख रहेको उनले बताए । विषादी र कीटनाशकको प्रयोग कम गरी जोखिम न्यूनीकरण गर्न उनले महिलाहरुलाई सुझाव दिए । प्रमुख शाहीले कृषि प्रधान देशमा कृषि उपजप्रति परनिर्भरता बढेको बखतमा परनिर्भरतालाई रोक्न व्यवसायिक कृषि खेती उत्तम रहेको बताए । व्यवसायिक कृषिका लागि धेरै जमिनको आवश्यकता नपर्ने, फुर्सदको समयलाई पनि उपयोग गर्दै कौसीमा तरकारी लगाएरै तरकारीमा परनिर्भरता रोक्न सकिने उनको भनाई छ । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न महिलाहरुलाई आग्रह गरे । तानसेन सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गरेको प्रमुख शाहीको भनाई छ ।

 

कौसी खेतीमा महिलाहरुले रुचि देखाएपछि उनीहरुलाई तालिम सहित विउविजन र कृषि सामग्री उपलब्ध गराइएको सिल्खानटोल विकास संस्थाकी अध्यक्ष रमा पन्तले बताईन् । उनले भनिन् ‘कोभिडले आमनागरिकलाई प्रभाव पारेको अवस्थामा यस्तो कार्यक्रम ल्याइएको हो ।’ अध्यक्ष पन्तले कौसी खेतीबाट धेरै फाइदा लिन सकिने भएको र आफु पनि यही खेतीबाट आत्मनिर्भर बन्न सफल भएको बताइन् । महिलाको क्षमता अभिवृद्धिसँगै आर्थिक रुपमा आत्मानिर्भर बनाउने अभियानमा टोलविकास संस्था सक्रिय रहँदै आएको उनको भनाई छ । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष गणेश थापाले महिलाहरुको शसक्तिकरणको पाटोमा वडा कार्यालयले विशेष ध्यान दिएको बताए । उनले कौसी खेती कार्यक्रमका लागि वडाले एक लाख बजेट विनियोजन गरेको जानकारी दिए । वडा सदस्य सीता बस्नेतले टोल विकास संस्थाका महिलाहरु, सिर्जनशिल र उत्पादन कार्यमा लागेको भन्दै तालिम पछि अनुगमन गरिने र उत्कृष्ट कार्य गर्नेलाई वडा कार्यालयबाट पुरस्कृत गर्ने बताइन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले आर्थिक समृद्धिको आधार कृषि भएको बताए । उनले कौसी खेतीप्रति महिलाहरुले देखाएको सक्रियताको प्रशंसा गर्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवसायिक रुपमा रुपान्तरण गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । तालिममा ५५ जना महिलाहरुको सहभागीता रहेको थियो । उनीहरुलाई विउविजन,पानी हाल्ने झाडी, मल बनाउने भाँडो,पोलिव्याग, कोकोकिट लगायतका कृषि सामग्रीहरु समेत दिइएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष रमा पन्तको अध्यक्षता, उपाध्यक्ष जिवा आलेको स्वागत, सचिव भुनु थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update