
कविता, निबन्ध, आख्यान र नाटक साहित्यका चार विधाहरु हुन् । जसमध्ये कवितालाई सर्वप्राचीन समृद्ध विधाको रुपमा लिइन्छ । साहित्यमा कवितालाई काव्य पनि भनिन्छ । पूर्वीय साहित्यमा अग्नीपुराण र पाश्चात्य साहित्यमा अरस्तुको काव्यशास्त्रबाट नै साहित्यमा सैद्धान्तिक परम्पराको थालनी हुँदै आएको हो । कविता काव्यको सबैभन्दा सानो स्वरुपलाई लघुतम काव्य भनिन्छ ।
पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै विश्वव्यापी रुपमै उत्तर आधुनिक समयमा लघुतम काव्य अन्तर्गत विभिन्न विधा/उपविधा/प्रविधाको रुपमा नयाँ–नयाँ प्रयोग र प्रस्तुतिहरू हुँदै आएका छन् । यस्ता प्रयोग र परिकल्पनाहरू द्विपदी, त्रिपदी, चतुष्पदी, पञ्चपदी, षट्पदी र सप्तपदी सम्मका रहेका छन् । कविता – काव्य विधाको उपविधाको रूपमा ७ असार २०७८ का दिन ‘शीत’ को परिकल्पना भएसँगै आज चौथो वर्षको अवस्थासम्म आइपुग्दा कवयित्री विमला ढकाल ‘समीक्षा’ एघारौं शीत ईश्वरको रूपमा अवतरित भएकी छन । शीत काव्य समाज नेपालका अध्यक्ष कृष्ण बहादुर के.सी. प्रथम शीत ईश्वर हुन भने त्यसपछि क्रमशः इन्दिरा ज्ञवाली पौडेल, शारदा ज्ञवाली ढकाल, देशभक्त सिंह कुँवर, देवेन्द्रराज शाक्य, लव जोशी, दामोदर ढकाल ‘दीपक’, पुष्कर अथक रेग्मी, सत्यनारायण ढकाल, भोजभक्त कँडेल र विमला ढकाल ‘समीक्षा’ शीत ईश्वरको रूपमा प्रतिष्ठापित भइसकेका छन । कवयित्री धर्मी शाक्य र शोभा आचार्य गौतम शीत साधकको रूपमा स्थापित रहेका छन । यसका साथै धेरै नै स्रष्टा, कवि कवयित्रीहरू शीतयात्रीको रूपमा रही शीतको व्यापिकरणमा लागि परेका छन । बाग्मती प्रदेश धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १२ निवासी माता इन्द्रकुमारी ढकाल र पिता कुलप्रसाद ढकालको सुपुत्री विमला ढकालको जन्म वि. सं.२०३९ जेठ १८ गते भएको हो । साहित्यिक एवं सामाजिक क्षेत्रमा ‘समीक्षा’ उपनामले परिचित विमलाले समाजशास्त्रमा एम.ए. उतीर्ण गरेकी छन । विमला कानुनी सेवाको संचालकको रूपमा रही सेवा प्रदान गर्दै आएकी विमलाजी आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनकी महिला तथा बालबालिका विभाग संयोजक, सुखशान्ति मिडियाका कानुनी सल्लाहकार र शीत काव्य समाज बाग्मती प्रदेशकी अध्यक्ष समेत हुन ।
चतुष्पदीय काव्य उपविधाको रूपमा परिकल्पित शीत २ अक्षर, ४ पङ्क्ति, जम्मा ८ अक्षरीय संरचनाभित्र बाँधिएर लेखिएको हुन्छ । यो नै एउटा पूर्ण शीत हुन्छ । शीत, द्वय, त्रय, चक्र, पत्र, पुष्प, कुञ्ज, द्वीप, ब्रम्ह हुँदै कल्पसम्मको संरचनामा रहेको छ । संरचना अनुसार १००८ भन्दा बढी शीतलाई शीतकल्प भनिन्छ भने शीतकल्प कृति प्रकाशित गर्ने शीतयात्रीलाई शीत ईश्वरको पदवीद्वारा विभुषित गरिन्छ । हाम्रो यो शीतयात्रामा शीत कल्प कृति प्रकाशित गरी एघारौ शीत ईश्वरको रूपमा प्रतिष्ठापित हुनुहुने कवयित्री विमला ढकाल ‘समीक्षा’ को शीत काव्य स·्रह कल्प (२०८२) भित्र तीस वटा विभिन्न शीर्षकमा शीतहरू सहित रहेका छन् । सबै शीतहरू शीतका सिद्धान्त नियम सूत्रभित्र रही अर्थपूर्ण ढंगले सिर्जना भएका छन् । सहभित्रका, वर्णमाला, चरीको गीत, अंक, बालगीत, मुनुमुनु म्या, मुसा शीर्षकका शीतहरू बालउपयोगी रहेका छन् । भजन, विवाह, वृद्धावस्था, गाउँ आदि शीर्षकका शीतहरूले सामाजिक सांस्कृतिक मूल्य र मान्यतालाई झल्काएका छन् । भिषा, चेतनाको गीत, देशप्रेम, मेलम्चीको पानी शीर्षकका शीतहरूले मुलुकको अवस्थालाई चारित्रीकरण गरेका छन् । मोबाइल फोन र कलियुगे नारी पुरूष शीर्षकको शीत समसामयिक रहेका छन् । अंश लडाइँ, आमा छोरा, माया शीर्षककां शीतहरू संवादको रूपमा उपस्थित भएका छन् । जीवनकाल, कथा जस्ता शीतहरू लघु कथात्मक शैलीमा रहेका छन् भने शीत शुभारम्भ र शीतको परिभाषा शीर्षकको शीतहरूले काव्य उपविधा शीतको परिचय दिएको छ । श्रीमान शंकर प्रसाद घिमिरे प्रकाशक रहेको ’शीत कल्प’ को बजार व्यवस्थापक गौरी पब्लिक रिलसन एन पब्लिकेसन काठमाडौं रहेको छ । समग्रमा भन्नुपर्दा नियम संरचनाभित्र बाँधिएर सरल भाषा शैलीमा लेखिएका शीतहरू गेयात्मक रहेका छन् । अनुप्रास मिलेका र नमिलेका दुवै प्रकारका शीतहरू सूत्रात्मक भई शब्द अर्थ र मन्त्रपूर्ण रहेका छन् ।
लघुउपविधाको रूपमा आएको शीत कृति कल्प (२०८२) नेपाली कविता साहित्यको भण्डारणमा संग्रहणीय भई चतुष्पदीय काव्यको इतिहासमा उदाहरणीय कृतिको रूपमा रहने छ । कविता लेखनको शुभारम्भ नै शीतबाट हुन्छ । शीत लेख्न सजिलो छ । अर्थ खुल्ने गरी दुई/दुई अक्षरका चार पङ्क्ति मात्र शब्द लेखिदिदा शीत बन्दछ । सिकारु, उदियमान, क्रियाशील, स्थापित एवं प्रतिष्ठापित स्रष्टा र काव्य पारखी दृष्टाहरूका लागि काव्य उपविधा शीत शोध खोज र सोंचपूर्ण भइरहेको अवस्थामा शीत ईश्वर विमला ढकाल ‘समीक्षा’ को शीत काव्य सह कल्प (२०८२) ले पृथक पहिचान बनाउन सफल हुने छ भन्ने विश्वास लिएको छु । कृतिगत एवं वैयक्तिक सफलताका लागि अनगिन्ती शुभकामना ! आगामी दिन शीत लगायत लघु काव्य उपविधा सिर्जनामय बनिरहोस् । शुभयात्रा !
शीत
यात्री
कल्प
दात्री !
( रेग्मी पाल्पाका स्थापित स्रष्टा÷समीक्षक एवं शीत र त्रिशूलका परिकल्पनाकार समेत हुन ।)