Shittalpati
प्याब्सन पाल्पाले गर्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

पाल्पा (तानसेन),  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  पाल्पाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । तानसेनमा एक कार्यक्रमको आयोजना गरेर प्याब्सनले जिल्लामा रहेका संस्थागत विद्यालयका एक सय २१ जना विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको हो ।

प्याब्सनले सम्मान गरेका विद्यार्थीले एसईई परीक्षामा ३.६० भन्दा माथि जिपिए हासिल गरेको जिल्ला सचिव गंगाबहादुर खत्रीले जानकारी दिए ।

सम्मानित विद्यार्थी र विद्यालयलाई लुम्बिनी प्रदेशका  स्वास्थ्य मन्त्री खेम बहादुर सारुले पुरस्कारसहित सम्मान गरेका हुन् । सम्मान गर्दै उनले निजी विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समग्र जिल्लाको शैक्षिक  विकासका लागि समन्वय, सहकार्य र आवश्यक भूमिका निर्वाह गर्दै अघि बढ्नका लागि व्याब्सनलाई सुझाव दिए ।

 मन्त्री सारुले विद्यार्थीहरूलाई बधाई दिँदै सिकेको ज्ञान र उच्च अंकलाई समाज र राष्ट्रको हितमा उपयोग गर्न आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले संस्थागत विद्यालयहरूको गुणस्तरीय शैक्षिक व्यवस्थापनकै कारण जिल्लाको समग्र नतिजा उत्साहजनक आएको उल्लेख गर्दै सम्मानित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गरे ।  प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्तले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै प्याब्सन सदैव विद्यार्थीहरूको चौतर्फी विकास र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको  बताए । कार्यक्रममा जिल्लाका विभिन्न संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, सम्मानित विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update