सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर यस वर्ष वैशाखकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ । यो विश्वव्यापी जलवायु परिवर्तनको असरको प्रभाव हो भन्दा फरक पर्दैन । जलवायु परिवर्तनको असरका कारण नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति अहिले बढेको छ । यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ ।
पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु मानिन्थ्यो । मनसुनपूर्वको समयमा हल्का वर्षा र हावाहुरी मात्र चल्थ्यो । त्यसपछि मनसुन सुरु हुन्थ्यो । असार महिनाभरजसो नै वर्षा निरन्तर हुन्थ्यो । साउन र भदौमा हल्का झरी कायम रहन्थ्यो । तर पछिल्ला केही वर्षयता यी मनसुनका चार महिना जेठ, असार, साउन र भदौमा वर्षा कम हुने गरेको छ । त्यसपछि लम्बिएर दसैँ र तिहारका बेला बेमौसमी वर्षाका रूपमा मनसुनको वर्षा ओइरिने प्रवृत्ति बढेको हो । यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । लम्बिँदै गएको मनसुनको प्रवृत्तिलाई विभागले आत्मसात् गर्दै मनसुन अवधि आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको रहने जनाएको छ ।
मनसुन ऋतुको जलवायु प्रक्षेपण सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रस्ट पारेको छ । यसले यस वर्ष खडेरीको जोखिम बढ्ने सम्भावनालाई प्रष्ट पार्दछ । खडेरीको जोखिममा सबै भन्दा बढी कृषि क्षेत्रमा पर्ने देखिन्छ । यसको असर परम्परागत खेती प्रणालीमा बढी देखिन्छ । किसानले आकासे पानीमा मात्र निर्भर रहने अवस्था अब छैन । त्यसैले वर्षा सङ्कलन, पोखरी निर्माण र सिँचाइ प्रणालीको विस्तारलाई प्राथमिकतामा राख्नुपर्छ । स्थानीय तहले साना सिँचाइ आयोजना र पानी सङ्कलन प्रविधि तत्काल लागू गर्न सके खडेरीको असर न्यून गर्न सकिन्छ । यस्तै, बीउको छनोटमा वैज्ञानिक दृष्टिकोण आवश्यक छ । सुख्खा–१ देखि सुख्खा–६ जस्ता धानका जातहरुले खडेरी सहन सक्ने भएकाले किसानका लागि विकल्प हुन सक्छ । तर, बीउ मात्र उपलब्ध गराउनु पर्याप्त हुँदैन । किनभने किसानलाई यसको प्रयोग विधि, जमिन तयारी र पानी व्यवस्थापनबारे प्राविधिक सहयोगको पनि खाँचो पर्छ । कृषि प्राविधिकलाई गाउँस्तरमा परिचालन गरेर प्रत्यक्ष परामर्श दिने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकियो भने पनि खडेरीबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ । तसर्थ यसतर्फ सबै सजग हुन जरुरी छ ।
((

