Shittalpati
एसइई नतिजाले दिएको सन्देश

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक  भएको छ ।  सोमबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेका हो । सार्वजनिक नतिजा अनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक अघिल्लो वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । यसले के प्रष्ट हुन्छ भने गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । यस पटकको नतिजाले विद्यालय शिक्षासँग सरोकार राख्ने धेरैलाई उत्साह जगाइदिएको छ । नतिजामा देखिएको उत्साहजनक सफलताले विद्यार्थी, शिक्षक, अभिभावकलाई हर्षित र गौरवान्वित तुल्याएको छ । यो सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानी, मेहनत र समर्पणले सार्थकता पाउन थालेकोतर्फ सङ्केत गरेको छ । यो सफलतालाई कुनै एक पक्षको मात्र नभई सबैको सामूहिक प्रयासको प्रतिफलका रूपमा बुझ्नु पर्छ ।

गत वर्षको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएपछि सरोकारवाला सबैको ध्यान यस पटकको नतिजा सुधार गर्नुपर्छ भन्नेतर्फ केन्द्रित भएको थियो । उक्त घटनाबाट पाठ सिकेर शिक्षण सिकाइ क्रियाकलापमा व्यापक सुधार गरिएको थियो । तर एसइईमा उच्च अङ्कका साथ परीक्षार्थी उत्तीर्ण भए भन्दैमा चित्त बुझाएर बस्ने अवस्था भने छैन । किनभने अहिले पनि कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै स्वदेशमा सम्भावना नदेखेर बिदेसिने विद्यार्थी संख्यामा हरेक वर्ष वृद्धि भइरहेको छ । यो अत्यन्त दुखद् हो । विद्यार्थीलाई उच्च अङ्कका साथ उत्तीर्ण गराएर मात्र हुँदैन उनीहरुलाई स्वदेशमै बसेर सिपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्न सक्नुपर्छ । समग्र शिक्षा क्षेत्रकै सुधार गरी सबल, जिम्मेवार नागरिक उत्पादनमा शिक्षा केन्द्रित गरिनुपर्छ । शिक्षामा हुने सुधारले मात्रै समग्र देशको सुधार सम्भव हुन्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update