पाल्पा, जिल्लाका प्राध्यापकहरुलाई क्षमता विकास तालिम दिइएको छ । अनुसन्धान ब्यवस्थापन समिति, पाल्पा बहुमुखी क्याम्पस, पाल्पाको आयोजना र विश्वविद्यालय अनुदान आयोग भक्तपुरको सहयोगमा तालिम दिइएको हो ।
तालिम कार्यक्रमको त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका क्याम्पस प्रमुख डा. टंक पन्थले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै पाल्पामा उच्च शिक्षाको विकासका लागि भएका प्रयास, चुनौति र सम्भावनाको चर्चा गर्दै तालिम कार्यक्रमले थप टेवा पुग्ने विश्वास ब्यक्त गरे । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसालले पाल्पामा शैक्षिक विकासका लागि सहभागीहरूबाट विशिष्ट सेवा प्रवाह हुन तालिमले प्रेरणा पुगेको विश्वास ब्यक्त गरे । पाल्पा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख योगेन्द्र वीरकट्टाले प्राध्यापकहरूलाई समसामयिक विषयवस्तु, विधिप्रविधि र अनुसन्धानका क्षेत्रमा अद्यावधिक गर्न तालिम आयोजना भएको बताए । कार्यक्रममा अनुसन्धान समितिका संयोजक गोपाल प्रसाद वश्यालले प्राध्यापकहरूको क्षमता विकासका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोगको प्रशंसा गर्दै सहजकर्ताहरूको दक्षता र सहभागिहरूको सक्रिय सहभागिताका कारण कार्यक्रमको लक्ष्य अनुसार सफलता प्राप्त भएको बताए । संयोजक वश्यालले अनुसन्धान सहितले अनुसन्धानमा आधारित लेखहरूको संकलन गरी प्राज्ञिक प्रकाशन गर्ने अबको योजना रहेको उल्लेख गरे । सहजकर्ता डा. शंकर प्रसाद गैरेले अनुसन्धान र प्राज्ञिक लेखनका दुःख र आनन्दका अनुभूति सुनाउदै निरन्तर साधनाको आवश्यकता पर्ने बताए । त्यसैगरी सहभागीहरूको तर्फबाट प्रतिक्रिया दिंदै त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक उत्पल कुमार बज्राचार्यले तालिम सत्रहरू शिक्षण विधि, अनुसन्धान तथा प्राज्ञिक लेखनका धेरै पद्धतिका बारेमा उपयोगी रहेको बताए ।
उपप्राध्यापक बज्राचार्यले आफूले पिएचडि कार्य गरिरहँदाका अनुभवहरू पनि सुनाए । त्यसैगरी अर्का सहभागी तानसेन बहुमुखी क्याम्पसका नारायणी शर्मा नेपालले तालिम उपलब्धिपूर्ण रहेको बताइन् । कार्यक्रममा सहायक क्याम्पस प्रमुख विना के सी, अनुसन्धान समिति सदस्य डिल्लीराज शर्मा लगायतले कार्यक्रमको समीक्षात्मक टिप्पणी गरेका थिए । तीन दिनसम्म चलेको तालिममा जिल्लाका एक दर्जन क्याम्पसबाट ५३ जना प्राध्यापकहरू सहभागीको सहभागीता रहेको थियो । तालिममा त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रकको कार्यालय पोखराका सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धानका विभिन्न विधिहरूअनुसार अनुसन्धान प्रक्रिया र साधनहरूका बारेमा जानकारी गराएका थिए । यस्तै त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका डा. पित बहादुर नेपालीले अनुसन्धान कार्यमा स्रोतको उपयोग, उदाहरण र सन्दर्भ सूची पद्धति, त्रिभुवन क्याम्पसकै डा. शंकर प्रसाद गैरेले अनुसन्धान उत्प्रेरणा तथा प्राज्ञिक लेखनकला, अनुसन्धान ब्यवस्थापन समिति, पाल्पा बहुमुखी क्याम्पस, पाल्पाका संयोजक गोपाल प्रसाद वश्यालले प्राज्ञिक सिपका चार स्तम्भ, प्राज्ञिक ब्यक्तित्वहरूका अनुसन्धान तथा विद्वतबृत्ति, निरन्तर पेशागत विकासका रणनीति, र अनुसन्धान ब्यवस्थापन समितिका सदस्य हरिमाया ज्ञवालीले तनाव ब्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

