Shittalpati
परिवार दिवसले दिने सन्देश

अन्तर्राष्ट्रिय परिवार दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको हो । सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

दिवसले सबैलाई प्रेम, समझदारी र जिम्मेवारीमा आधारित पारिवारिक जीवनको पुनः महत्व झल्काउने प्रेरणाको स्रोत बन्ने छ । संस्कार, शिक्षा, सहिष्णुता र सहयोगको पहिलो पाठशाला परिवार नै हो । दिवसले पारिवारिक संरचना, त्यसको महत्व, चुनौती र योगदानलाई अन्तर्राष्ट्रिय रुपमा उजागर गर्ने प्रयास गर्दै आएको छ । परिवार केवल जैविक सम्बन्धको मात्र नाम होइन, यो सामाजिक, भावनात्मक र नैतिक मूल्यको जरा हो । हामी र हाम्रो समाजको सबै भन्दा नजिक र मानव जीवनको विकसित स्वरुपलाई झल्काउँने कार्यका लागि हरेक परिवारको महत्वपुर्ण योगदान रहन्छ । मुलुकमा जहाँ सांस्कृतिक मूल्य र परम्पराहरू पारिवारिक जीवनसँग गहिरोरूपमा गाँसिएका छन् । यस दिनको पालनाले विशेष अर्थ राख्छ । जसरी परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाउँछ, परिवार र समुदायमा मात्र सीमित नभइकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि यस दिनले सन्देश दिन्छ । विश्वका हरेक परिवारलाई समावेशीपनाको आवश्यकता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई बृहतरूपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यकता पनि हो । पारिवारिक मूल्यको संरक्षणमा लाग्न सहअस्तित्व, संवाद र समर्पणको भावना पुनःजागृत गर्नु यो दिवसलाई व्यवहारिक बनाउन जरुरी छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update