Shittalpati
संविधान संशोधनका विषयमा राष्ट्रिय जनमोर्चा पाल्पाले गर्यो सर्वपक्षिय अन्तरक्रिया

पाल्पा , वर्तमान सरकारले संविधान संसोधनको लागि कार्यदल गठन गरी संसदमा प्रतिनिधित्व गर्र्ने राजनीतिक दलहरुसँग सुझाव मागिरहेको समयमा राष्ट्रिय जनमोर्चा पाल्पाले जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकारहरुसँग वर्तमान राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा अन्तरक्रिया गरेको छ । 

अन्तरक्रियामा बोल्दै अधिकाश राजनीतिक दलका नेता तथा प्रतिनिधीहरुले संविधानको प्रस्तावना बाहेकका कुराहरुमा समय अनुसार संशोधन गरेर जानुपर्नेमा जोड दिएका छन् । नेपालको आर्थिक अवस्था सुहाउँदो संघीयता नभएको राष्ट्रियता जनमोर्चाले दावी गरिरहेको अवस्थामा अन्तरक्रियामा बोल्दै अधिकाश व्यक्तिहरुले संघीयताले देशलाई अझै बलियो बनाएर लैजाने तर व्यवस्थापकिय पक्ष कमजोर रहेकोले सुधार आवश्यक रहेको बताए । २०७२ मा शतप्रतिशत अपनत्व लिने गरी संविधान जारी नभएकाले १० बर्षको अवधिमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै संविधान संसोधन गर्न जरुरी रहेको पाल्पाली वक्ताहरुले जोड दिएका छन् । 

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, शासकिय स्वरुप, निर्वाचन प्रणालीलाई संशोधन गर्दा देशमा अर्काे द्धन्द्ध निम्तिन सक्ने, विदेशीहरुले खेल्न सक्ने भएकाले यी विषयमा संसोधनको जरुरी नभएको कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले बताएका छन् । सरकारले संविधान संसोधनको लागि संविधान संम्वन्धी विज्ञ टोली बनाएर सुझाव संकलन गरेमा अझ प्रभावकारी हुनेमा बक्ताहरुले जोड दिए ।  निर्वाचनमा सहभागी भएका जिल्लाका बामपन्थी राजनीतिक दलहरुले अब मुलुक र जनताको परिवर्तनको लागि फुटेर होईन जुटेर एउटै कम्युनिष्ट पार्टी बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा स्थायी अभिभावको रुपमा राजतन्त्र र राजा सहित प्रजातन्त्र आवश्यक रहेको बताईरदा अन्य दलहरुले भने  राजतन्त्र अवस्था भोगिसकेकोले उपयुक्त व्यवस्था गणतन्त्र रहेकाले देखिएका कमिकमजोरीहरुलाई सुधार गरेर जानुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गणेश आचार्यले संविधान संसोधनका विषयमा पार्टीको १५ बुँदे अवधारणपत्र प्रस्तुत गरेका थिए । संविधान संशोधन गर्दा स्वदेशी तथा विदेशी चलखेल बढ्ने भएकोले राष्ट्र,राष्ट्रियता, छिमेकीप्रतिको सन्तुलन नीति, गरिवी तथा बेरोजगारलाई ध्यानमा राखेर गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कुमार कार्की, संविधान सभा सदस्य लिला सोमै, पुर्व सांसद यादव बहादुर रायमाझी, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका प्रवक्ता शोभाखर न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका सचिव जगन्नाथ नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुवँर, नेकपा माओवादीका संयोजक मिन बहादुर बगाले, बामपन्थी विश्लेषक मथुरा ढकाल, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सन्तोष खनाल, बुद्धिजिवी निर्मल श्रेष्ठले अवधारणामा आधारित रहेर संविधान संशोधनका विषयमा आ–आफ्नो राय प्रस्तुत गरेका थिए ।  राष्ट्रिय जनमोर्चाले जिल्ला जिल्लामा राजनितिक दल, नागरिक समाज, पत्रकारहरुको संविधान संसोधनका विषयमा विचार बाहिर ल्याउन पार्टीले ७७ वटै जिल्लामा संविधान संसोधनका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताए । अन्तरक्रिया कार्यक्रम सह सचिव नर्मती सिंजालीको स्वागत  जिल्ला सचिव विरेन्द्र मिदुनको सञ्चालनमा भएको थियो । 


 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update