Shittalpati
सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणको नाममा भत्काउने हैन, व्यवस्थित गर्नुपर्नेमा जोड

पाल्पा, जिल्लाको रामपुरमा सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यहाँका सरोकारवाहरुसँग सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सम्बन्धी छलफल भएको हो ।  

सरकारको निर्देशन अनुसार सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण, सुकुम्बासी समस्या समाधानसँगै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न  छलफल गरिएको नगरपालिकाले जनाएको छ  । कार्यक्रममा सहभागीहरुले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गर्ने नाममा भत्काउन नहुने बताएका छन् । उनीहरुले संरचना भत्काएर समस्या समधान नहुने भन्दै बरु ति जग्गाहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद  श्रेष्ठले रामपुरमा अन्य जग्गा भन्दा अव्यवस्थित जग्गाको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको बताए । उनले जग्गा संरक्षणको नाममा भत्काउनु भन्दा यसलाई व्यवस्थित रुपमा समाधान गर्न आवश्यक रहेको बताए । उनले फरक–फरक किसिमका जग्गाको व्यवस्थापन एकै किसिमले गर्न नसकिने भन्दै उचित समाधान खोज्नु पर्नेमा जोड दिए । स्थानीय तहलाई आदेश दिएर मात्र नहुने भन्दै सरकारले नीतिगत व्यवस्था गरी काम गर्नु पर्नेमा उनले जोड दिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित , सुकुम्बासी तथा सार्वजनिक स्थानमा बनेका संरचनालाई नगरपालिकाको मातहतमा ल्याउने बताए । उनले  भत्काएर मात्र समस्याको समाधान नहुने भन्दै  सार्वजनिक स्थानमा बनेका भवन संरचनालाई नगरपालिकाको मातहतमा सञ्चालन तथा व्यवस्थापन गरिने उल्लेख गरे । थापाले  जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती र सुकुम्बासी बस्तीमा रहेका नागरिकको उचित व्यवस्थान गरेर मात्र स्थानान्तरण गरिनेमा जोड दिए । उनले भने “सार्वजनिक स्थानमा बनेका संरचना हिजोको सरकारको अनुमति र निर्णय प्रमाणका आधारमा बनेका हुन्, यसको व्यवस्थापनका लागि नगरपालिका प्रतिबद्ध छ ।”

नेपाली काँग्रेस रामपुर नगर  सभापति नेत्रप्रसाद भट्टराईले विभिन्न सङ्घसंस्था, सार्वजनिक जग्गामा  रहेका वास्तविक सुकुम्बासीको पहिचान गरि व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याए ।  सुकुम्बासीहरूको लागि कुनै निश्चित स्थानमा एकीकृत बस्ती विकास गरी व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । तत्कालीन रामपुर गाउँ विकास समितिको बैठकको निर्णय अनुसार प्रतिष्ठान, भवनहरू निर्माण भएको बताउँदै उनले भड्काउने भन्दा पनि राज्यलाई आम्दानी हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । नेकपा एमालेका रामपुर नगर कमिटी अध्यक्ष लिलबहादुर गाहाले अवस्थित जग्गा समस्याको रुपमा रहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्नुपर्ने धारणा राखे । वास्तविक सुकुम्बासीको लागि  सोही स्थानमा मापदण्ड अनुसार बनाउन  सरकारलाई अनुरोध गर्न उनले आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव जोगन भुजेलले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने र तिनीहरु नगरपालिकाको स्वामित्वमा ल्याउनुपर्ने सुझाव राखे । सार्वजनिक स्थानमा निर्माण भएका संरचना भत्काउनु भन्दा पनि व्यवस्थापन गरेर जानुपर्नेमा उनले जोड दिए । नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष फणेश्वर गौतमले नगर भित्र अव्यवस्थित जग्गाको समस्या जटिल रहेको बताए । उनले समस्या समाधानका लागि पहल गर्नु पर्ने, नगरपालिका क्षेत्रमा सार्वजनिक स्थलमा निर्माण भएका प्रतिष्ठान भवनहरु नगरपालिकाको निगरानी राख्नु पर्ने धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका नगर अध्यक्ष बृहस्पति अर्यालले पनि सार्वजनिक स्थानमा निर्माण भएका प्रतिष्ठान भवनहरूबाट सङ्कलन भएको घर बहाल  नगरपालिकाले अशुल्नु पर्नेमा जोड दिए ।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले सुकुम्बासी भन्दा पनि अव्यवस्थित बसोबासीको समस्या रहेको जानकारी गराउँदै वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने बताए । कालीगण्डकी करिडोरको सडक मापदण्डले सडक दायाँबायाँ रहेका स्थानीयलाई सुकुम्बासी बनाउने अवस्था रहेको बताउँदै त्यसका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । वडा नम्बर ३ का वडाध्यक्ष दामोदर पाठकले जग्गाको पुनः वर्गीकरण गर्नुपर्ने, जग्गामा निर्माण भएका संरचनाहरूलाई पालिका माततमा ल्याएर कर सङ्कलन गर्नुपर्नेमा जोड दिए ।

 रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले सार्वजनिक जग्गाको संरक्षणका लागि वडाले विगत तीन वर्षदेखि अभियानको रुपमा जानकारी गराए । लालपुर्जा भन्दा बाहेक अतिक्रमित जग्गामा बनेको संरचना भत्काउनुपर्ने, संयम भएर रामपुरको भविष्य निर्माणका लागि सकारात्मक सुझावको आवश्यकता रहेको उनले बताए । वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले वडाले जग्गा सिमाङ्कनको काम गर्ने तयारी गरेको जानकारी दिए । सार्वजनिक जग्गामा रहेका घर टहराहरू व्यवस्थापन पश्चात् मात्र भत्काउनुपर्नेमा उनले जोड दिए । वडा ७ का वडाध्यक्ष दोबराज तिवारीले सुकुम्बासी समस्या समाधानका लागि थप अध्ययन आवश्यक रहेको बताए । वडा ८ का वडाध्यक्ष दिनेश आचार्यले सार्वजनिक जग्गाभित्र पर्ने संरचनाहरू सूचना र समय दिएर हटाउनुपर्ने बताए । नगरपालिकाका सल्लाहकार हुमनाथ न्यौपानेले सुकुम्बासी तथा व्यवस्थित जग्गाको समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताए । उनले गरिब विपन्न परिवारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । नगर सल्लाहकार मित्रलाल कँडेलले सुकुम्बासीको वडागत लगत सङ्कलन गर्नुपर्ने, र उनीहरूको लागि बसिरहेको स्थानमा जग्गा दिन उपयुक्त हुने बताए । नगर सल्लाहकार दिनेस खनालले सुकुम्बासीलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दर्ताका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पनि प्रतिष्ठान भवनलाई पालिका मातहतमा ल्याउनुपर्नेमा जोड दिए । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update