Shittalpati
दूरसञ्चारको गुणस्तर सुधार

आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

अन्तर्राष्टिूय दूरसञ्चार संगठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो । पछिल्लो समय भने गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने लगायतका विषयमा यो दिवस केन्द्रित हुन थालेको छ । यद्यपी पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयुगबाट प्राप्त हुनसक्ने थप लाभ लिन भने सकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । लामो इतिहास बोकेको दूरसञ्चारको गुणस्तरमा अझै पनि सुधार हुन सकेको छैन् । कयौं सहरी क्षेत्रमा अझै पनि फोन लाग्दैन, लागे पनि बोल्दा–बोल्दै काटिने, डेटा नचल्ने, ब्रोडब्यान्ड इन्टरनेटको स्पिड तोकिएकोभन्दा कम हुने जस्ता समस्या छन् । यस्ता समस्या समाधान गर्न सरकारले बारम्बार निर्देशन दिए पनि खासै सुधार हुन सकेको छैन । कानुनी र संरचनागत पक्षमै मुख्य चुनौती रहेकाले सुधार सहज नभएको जानकार बताउँछन् । समयसापेक्ष नीतिको अभावले पनि दूरसञ्चार क्षेत्रले गुणस्तरीय सेवा प्रवाहमा समस्या भोगिरहेको सरकारी स्वामित्वको नेपाल टेलिकमका अधिकारीहरू दाबी गर्छन् । पुरानो कानुनी संरचनाका कारण सेवा विस्तार र कभरेज सुनिश्चित गर्न समस्या रहेको कम्पनीको भनाइ छ। सहरी क्षेत्रमा पुराना टावर, ठूला भवन र हिमाली तथा पहाडी भेगमा विद्युत् अभावका कारण टावर समेत राम्रोसँग सञ्चालन हुन सकिरहेका छैनन् । सडक विस्तार र विद्युत्का तार भूमिगत गर्ने क्रममा अप्टिकल फाइबर काटिएर इन्टरनेट सेवा अवरुद्ध हुने जस्ता समस्या पनि छन् । यी समस्या समाधन गरी दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दिशमा नीतिगत सुधार गर्न जरुरी छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update