
पाल्पा , नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा ब्लड बैंकको शुभारम्भ गरेको छ । रेडक्रसले विहीबार रेडक्रसकर्मी, पत्रकार, नागरिक समाज, सर्वसाधारणको सहभागितामा ६३ औं रेडक्रस दिवसको अवसरमा पाल्पामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
विगत ३ बर्षको लामो मिहिनेत पछि रेडक्रसले तानसेनमा रक्त संचार केन्द्र ( ब्लड बैक ) सञ्चालनमा ल्याउन सफल भएको छ । रेडक्रसले सञ्चालन गरेको ‘हामी बनाउछौ हाम्रो ब्लड’ बैक अभियानमार्फत सञ्चालनमा ल्याइएको ब्लड बेंकले आम पाल्पाबासीमा खुसी छाएको छ । पाल्पामा लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल, रामपुर अस्पताल र पाल्पा डाइलासिस सेन्टर गरी ५ वटा अस्पताहरु सञ्चालनमा रहेका छन् । पाल्पामा रगत अभाव भएकोले बुटवल लगायतका क्षेत्रबाट नियमित रुपमा रगत ल्याउनु पर्ने बाध्यता विरामीहरुलाई हँुदै आएको थियो । ब्लड बैक सञ्चालनको लागि रेडक्रस पाल्पाका उपाध्यक्ष भिमसेन कार्की र पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सीनाले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रममै पहिलो दिन २६ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा अध्यक्ष बाबुराम कार्कीले अबका दिनमा पाल्पामा रक्त अभावको समस्यालाई समाधान गर्न रक्त बैंक महत्वपूर्ण हुने बताए । विगतमा आकस्मिक अवस्थामा रगत अभावका कारण बिरामी र परिवारजनलाई कठिनाइ व्यहोर्नु परेको थियो । अबका दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने अध्यक्ष कार्कीले बताए । मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोध गरे । पाल्पामा हरेक महिना ३ सय देखी ३ सय ५० प्वाइन्ट र बार्षिक रुपमा ४ हजार ५ सय प्वाइन्ट रगतको आवश्यकता पर्ने गरेको छ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन रोगका बिरामीहरूको लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले विरामीहरुलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरि सञ्चालनमा ल्याएको रेडक्रस पाल्पाका उपसभापति भिमसेन कार्कीले बताए ।
रक्त बैक सञ्चालन भएपछी अझ आईपर्ने चुनौती र कठिनाईलाई समाधान गर्न रेडक्रसले आगामी दिनमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने र जिल्लाभर जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले बताए । पाल्पामा दैनिक रुपमा आवश्यक पर्ने रगतको अभाव परिपुर्ती गर्नको लागि अस्थायी रुपमा शाखा कार्यलयमै ब्लड बैक सञ्चालन गरिएको र स्थायी रुपमा तानसेन नगरपालिका –१ भुसालडाँडामा भवन निर्माण भईरहेको कार्यालय प्रमुख विनोद भारतीले बताए । ब्लड बैक भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट गत बर्ष १ करोड ५० लाख र चालु आर्थिक बर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको थियो । नियमित रुपमा ब्लड बैक सञ्चालन तथा चालु खर्च व्यबस्थापनको लागि रेडक्रसले विभिन्न व्यक्ति संघ सस्थाहरुबाट ६८ लाख संकलन गरेको र रकम संकलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताए ।
ब्लड बैक सञ्चालनको लागि संघीय स्वास्थ्य मन्त्रालयबाट ५० लाखमा अत्याधुनिक उपकरण खरिद भएको, रामपुर नगरपालिका बाट १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिका बाट ५ लाख बराबरको एसि फ्रिज, रिव्दीकोट गाउँपालिकाबाट ५ लाख बराबरको व्याट्री व्याकप लगायतका सरसमान खरिद गरिएको रेडक्रस पाल्पाले जनाएको छ । ब्लड बैंक शुभारम्भ कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको महत्व र सामाजिक प्रभाव बारे सचेतना फैलाउँदै समुदायलाई नियमित रक्तदाता बन्न प्रेरित गर्न जिल्लाका सञ्चार माध्यम तथा पत्रकारहरु सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए । रक्तदानले केवल जीवन जोगाउने मात्र नभई सामाजिक एकता र सहकार्यलाई पनि बलियो बनाउने महासंघका अध्यक्ष तिमिल्सेनाले जोड दिए ।
रक्त बैंक सञ्चालनमा आएसँगै पाल्पामा अब आकस्मिक अवस्थामा रगतको लागि दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य हुने र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने रेडक्रस पाल्पाका स्वास्थ्य संयोजक डा. झपेन्द्र ढकालले बताए । रक्त बैकको शुभारम्भ तथा रक्तदान कार्यक्रमको सहजीकरण रेडक्रस सोसाईटी कालिका उपशाखा, तानसेन, पाल्पाले गरेको थियो । कार्यक्रममा रेडक्रसको झण्डोलोत्तन गरी रेडक्रसका जन्मदात हेनरी डियुनाको योगदानको चर्चा भएको थियो ।