
रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो । केही समय पहिलेसम्म गाउँपालिकामा कोभिड उपचारका लागि भौतिक पूर्वधार सहित स्वास्थ्य संस्था नहुँदा यहाँका नागरिकहरु सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता रहेको थियो । स्थानीयस्तरमै ल्याव सहितको कोभिड उपचार सेवा सञ्चालनमा आएसँगै तानसेन जानुपर्ने बाध्यता टरेको छ । कोभिडका सामन्य लक्ष्ण देखिन साथ उपचारका लागि गाउँपालिकाका आमनागरिक तानसेनमा सञ्चालित अस्पतालहरुमा जाने गरेका थिए । नागरिकहरुको सेवालाई मध्यनजर गर्दै गाउँपालिकाले ५ बेड सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पुस महिनादेखि नै सेवा दिदै आए पनि गत शुक्रबारबाट औपचारिक रुपमै सेवा सञ्चालनमा ल्याएको हो । छहरा स्वास्थ्य चौकीको पुरानो भवनमा अस्पताल निर्माण गरिएको छ । कोरोना अस्पतालका लागि एक डाक्टर, दुई स्टाफ नर्सको व्यवस्था गरिएको छ ।
कोरोना महामारीको अवस्था अझै पनि कायमै रहेकाले गाउँपालिका भित्रका नागरिकहरुको सुरक्षाका लागि स्थानीयस्तरमै कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । संघीय सरकारले १० लाख रूपैयाँ सहयोग गरेसंगै अहिले ल्याव सहितको कोभिड उपचार सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले जानकारी दिए । कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने योजना रहेको उनले बताए । अध्यक्ष कार्कीले भने‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।’ कोरोना संक्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने उनले बताए ।
ग्रामिण क्षेत्रमा डा.सहितको ल्याव सञ्चालनमा ल्याउनु चुनौती रहे पनि आफुहरु त्यसमा सफल भएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । उनले भने‘ जिल्लाको पश्चिम भेगमा विगतमा स्वास्थ्य क्षेत्रको पहुँच पुग्न नसकेको अवस्थामा अहिले भने सबै वडा–वडामा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् ।’ अध्यक्ष पोखरेलले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए । कोभिड अस्पताल निमार्ण भएसँगै उपचारका लागि बाहिर जानु नपर्ने उनले विश्वास व्यक्त गरे । उपचार अभावमा रैनादेवी छहराका कुनै नागरिकको कोभिडकै कारण ज्यान नगुमोस् भन्ने उद्देश्यले अस्पताल निर्माण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।
गाउँपालिकामै कोभिड अस्पताल निर्माण भएपछि आफुहरुलाई निकै सहज भएको स्थानीय नविन रायमाझीले बताए । उनले अब संक्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भएपछि स्वास्थ्यका हिसाबले निकै राम्रो भएको उनको भनाई छ ।
गाउँपालिकामा गत चैतदेखि अहिलेसम्म १ सय ८ जनालाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ सय ६ जना निको भएर घर फर्किसकेका छन््, भने एक जनाको मृत्यु भएको छ । गाउँपालिकाभरी १ हजार ३ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ । जिल्लाका अधिकांस गाउँपालिकामा ५ र १५ शैयाका कोभिड अस्पताल निर्माण गर्न संघीय सरकारले परिपत्र र बजेट स्थानीय तहमा पठाए पनि अन्य स्थानीय तहले भने अस्पताल निर्माण गर्न सकेका छैनन् ।