Shittalpati
कम्युनिष्ट सरकारले सुशासन कायम गर्न सकेन : नेता पहाराई

गुल्मी,नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराईले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको दुई वर्ष अवधिको मूल्याङ्कन गर्दा सुशासन कायम गर्न नसकेको आरोप लगाएका हुन् । जिल्लाको ईस्मा गाउँपालिका वडा नं. ६ राङदलचौरमा नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ को क्षेत्रीय भेलामा बोल्दै प्रतिष्ठानका सदस्य पहराईले वर्तमान कम्युनिष्ट पार्टीको सरकारले खोक्रो राष्ट्रवाद देखाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशमा भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै प्रतिष्ठानका सदस्य पहराईले भने, ‘भ्रष्टाचारीहरुलाई स्वयम सरकारले नै संरक्षण गरेको छ ।’

वर्तमान सरकारले संविधानको कार्यान्वयनमा रुची नदेखाएको भन्दै सम्पूर्ण संवैधानिक आयोगहरुलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको बताए । त्यस्तै उनले प्रतिपक्षी पार्टीलाई पूर्ण रुपमा किनारा लगाउन खोजेको आरोप लगाए । चुनावको बेला नेपाल कम्युनिष्ट पार्टीले जुन कुराहरु घोषणा पत्रमा उल्लेख गरेको थियो । त्यो पूर्ण रुपमा विर्सिएको बताए । जनतालाई झुठा आश्वासन मात्र देखाउँदै हिंडेको आरोप लगाए । बेरोजगारहरु दिनानु दिन बढ्दै गएको यसमा सरकारको ध्यान नगएको बताउँदै उनले भने, ‘वर्तमान सरकारले अन्तर्रा्ष्ट्रिय सम्बन्धमा खलबल हुने काम गर्न थालेको छ ।’ बर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारको नियतमा पूर्ण रुपमा खोट भएको आरोप लगाए । त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डा. दामोदर भुसाल, नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य झविन्द्र विश्वकर्मा, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी प्रदेश (ख) का सभापति रेखाकुमार जिसी, नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवहाक सभापति रामप्रसाद पन्थी (राम्जी) लगायतले भेलालाई सम्बोधन गरेका थिए । भेलामा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखनी सहभागिता रहेको थियो । नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ का सभापति झविन्द्र अर्यालको सभापतित्व तथा सचिव राजेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update