Shittalpati
महिला श्रमिकले थाहा नपाएको ‘नारी दिवस’

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन् । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा कुमालले जवाफ दिइन्, ‘एक दिन महिला दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।’ सरकारले मजदुरको होइन मालिकका लागि महिला दिवस मनाउने गरेको उनको आरोप छ । यस्तै आफ्नो नाम डल्ली नेपाली बताउने ५५ वर्ष हाराहारी उमेरकी एक महिला पनि तानसेनमा भारी बोक्ने काम गर्छिन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बारे सुनेकी नै छैनन् । ‘महिला दिवस कुन चराको नाम हो, हामीलाई थाहा छैन’, दिवस बारे प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘हामीलाई त भारी मात्रै थाहा छ ।’ सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ, भने अर्कोतिर कतिपय महिला श्रमिक भने दिवस कहाँ कसरी मनाइदै छ भनेर अविज्ञता प्रकट गर्छन् । नेपालीले महिला दिवसले महिला श्रमिकको हकहितका लागि काम नगर्ने बताइन् ।

तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा गिट्टी बोक्दै गरेकी मिना सारु नाम बताउने एक महिलालाई पनि नारी दिवसले छुन सकेन । उनी अरु दिन जस्तै सोमबार विहानैदेखि नै घर बनाउनका लागि बालुवा र गिट्टी बोक्न मै व्यस्त थिइन् । उनले भनिन्, ‘मैले निर्माण क्षेत्रमा काम गरेको लामो समय भयो । अहिलेसम्म महिला दिवस नै मनाएकी छैन । हामी जस्ता काम गर्ने गरिबलाई किन मनाउनु प¥यो दिवस ?’ यस्तै, रामपुरकी सविरन मियाँले पनि घर बनाउने मिस्त्री काम गर्छिन् । उनले अहिलेसम्म महिला दिवसका बारेमा सुने पनि मनाउन चाहि नमनाएको बताइन् ।

मियाँले भनिन् ‘महिला श्रमिकका नाममा दिवस मनाइए पनि दिवस महिला श्रमिकमैत्री हुन सकेको छैन ।’ अझै पनि ज्यालामा विभेद हुने गरेको उनको गुनासो छ । मियाँले पुरुष सरह नै दिनभर मिस्त्री काम गरे पनि ज्याला समान नभएको बताउँछिन् । पुरुषले भन्दा बढी काम गरेपनि कामको मूल्याड्ढन हँुदैन । काम नगरे साझ चुलो बाल्न सकिदैन त्यसैले कम पैसामा भएपनि काम गर्न बाध्य छौं उनले भनिन् । उनीहरु जस्तै जिल्लामा सयौं महिला मजदुरहरु दैनिक मजदुरी गर्दै आएका छन् । तर उनीहरु पारिश्रम भने पुरुषहरु भन्दा केही कमी पाउने गरेको बताउँछन् । यो निर्माणजन्य कार्यमा काम गर्ने महिला मजदुरको पीडा मात्र होइन अन्य क्षेत्रमा काम गर्ने महिलाहरुको पीडा पनि कम छैन । दैनिक ८/१० घण्टा सम्म काम गरे पनि मासिक ५/६ हजार रुपैयाँ मात्र पारिश्रम पाउने गरेको महिलाहरु बताउँछन् । काम गर्दा र सीप हुँदा हुँदै पनि महिलाहरुलाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद उत्तिकै कायम छ । दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलाहरुलाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइन्छ । सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा ईट्टाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् ।

सोमबार नेपाल लगायत विश्वभर १११ औं अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा पनि ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा महिला श्रमिकको अवस्था भने दशकौँ अघिकै जस्तै रहेको छ । दैनिक ज्यालादरी गरेर जीवनयापन गर्ने अधिकांश महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नै छैन । दिवसका दिन तानसेनमा भेटिएका धेरै महिला श्रमिकले दिवस नमाउने र दिवसका बारेमा चासो नै नभएको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update