Shittalpati
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका ८ वटै वडाहरूमा रहेका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य पाएको सुनिश्चितता भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो ।

सरकारले बालबालिकाको लागि १३ वटा सरुवा रोगहरु क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस वि, हेमोफिलस, इन्फुल्जा बी, पोलियो, जादुरा, रुवेला, न्यूनोमिया, मेनिन्जाईटिस, जापानिज इन्सेफलाईटिस, रोटा भाईरस तथा गर्भवती महिलाको लागि टि.डि. खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल लगायतले अध्यक्ष रुक्मागंत भटराईलाई प्रमाण पत्र प्रदान गरेर गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन ।

घोषणा कार्यक्रममा पूर्ण खोपको विषयमा प्रतिवेदन प्रस्तुत गर्दै पालिका स्वास्थ्य शाखा प्रमुख जीवन बहादुर रानाले पालिकाको ८ वटै वडाका प्रत्येक घरधुरीमा घरदैलो कार्यक्रम गरी खोप लगाएको एकिन गरिएको, बैशाख १५ भित्र सबै वडाहरुलाई पूर्णखोप युक्त वडा घोषणा गरिएको, कहि कतैबाट कोही पनि खोप कार्यक्रमबाट नछुटेको सुनिश्चित भएपछी पूर्णखोपयुक्त पालिका घोषणा कार्यक्रम गरिएको जानकारी दिए । पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले  पूर्णखोप सुनिश्चिता तथा दिगोपन निरन्तर कार्यक्रमले कुनै पनि बालबालिका कुनै पनि किसिमको खोप अभियानबाट नछुट्ने र बालमृत्युदरमा कमी आउने, भोलिका दिनमा स्वस्थ नेपालको निर्माणमा सहयोग पुग्ने  बताए । गाउँपालिका अध्यक्ष रुक्माङ्खत भट्टराईले स्वास्थ्य शाखाको अगुवाईमा महिला स्वास्थ्य स्वयमसेविका, वडा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य सेवा केन्द्र,  जनप्रतिनिधी, स्वास्थ्य कर्मचारीहरुको पुर्ण खटाईबाट नै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन गाउँपालिका घोषणा गर्न सफल भएको बताए । गाउँ–गाउँमा जनतालाई गुणस्तरीय र भरपर्दाै स्वास्थ्य सेवा पुर्‍याउन बर्थिङ सेन्टर बढाउदै लगिएको, ल्याव तथा एक्सरे सेवाहरु थपिएको, विभिन्न स्वास्थ्य चौकीमा एम्वुलेन्स सेवा सञ्चालन गरिएको पालिका अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा विभिन्न वडामा क्रियाशिल ७२ जना महिला स्वयमसेविकाहरुलाई सम्मान तथा ३ जना महिला स्वयमसेविकालाई नगद ३० हजारसहित विदाई गरिएको थियो । कार्यक्रममा योगदान गर्ने स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । घोषणा कार्यक्रम पालिका अध्यक्ष रुक्माङ्खत भट्टराईको अध्यक्षता ३ का वडाध्यक्ष प्रदीप पौडेलको स्वागत, स्वास्थ्य शाखा प्रमुख जीवनबहादुर रानाको सञ्चालनमा भएको थियो ।   

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update