Shittalpati
पाल्पा संग्रहालयमा प्रताप शमशेरको शालिक

कृष्ण पोखरेल
तानसेन, पाल्पा तानसेनको ऐतिहासिक दरबार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक निर्माण गरिएको छ । विसं १९८३ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको उक्त दरबार पुनर्निर्माण भएपछि प्रताप शमशेरको सम्झनामा शालिक निर्माण गरिएको हो ।
शालिकको बुधबार एक औपचारिक कार्यक्रमका बीच अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उद्योग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरेका हुन् । दरबार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको जानकारीको लागि प्रदेश सरकारले प्रताप शमशेरको शालिक निर्माण गरेको हो । शालिक अनावरण गर्दै पर्यटनमन्त्री गिरीले ऐतिहासिक पाल्पा दरबार संग्रहालय प्रदेशकै एकमात्र संग्रहालय भएकाले यसको विस्तार र विकासमा प्रदेश सरकारले विशेष प्राथमिकताका साथ हेरेको बताए । उनले भने ‘अहिले संग्रहालयमा लुम्बिनी प्रदेशको पहिचान झल्कने प्रमुख जाती मगर र थारुको भेषभुषा, खानपान रहनसहनमा आधारित वस्तु तथा सामग्रीहरुको व्यवस्थापन भए पनि अन्य ऐतिहासिक तथा कलात्मक सामग्रीहरु जुटाउने काममा प्रदेश सरकार लागि परेको छ ।’ दरबार संग्रहालयको गुरुयोजना अनुसार प्रदेश सरकारले बजेट विनियोजन गरी काम गर्दै जाने, संग्रहालय प्रवेश गर्ने स्थलममा आर्कषक गेट निर्माण गर्ने, उत्तरतर्फको मुल ढोकामा मर्मत सम्भारको लागि पुरातत्व विभागसँग सहकार्य गर्ने लगायत कामहरु भइरहेको मन्त्री गिरीले बताए । दरबार निर्माणकर्ता प्रताप शमशेरको योगदानलाई सबैले स्मरण गरुन्, ईतिहास बारे सबैलाई जानकारी होस् भन्ने उद्देश्यले शालिक अनावरण गरिएको उनको भनाई छ ।

मन्त्री गिरीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पर्यटकहरुको संख्यामा वृद्धि हुने भएकाले अहिलेदेखि नै प्रमुख पर्यटकीय गन्तव्यहरुसँग लिंकअप गर्नको लागि प्रदेश सरकारले जिल्ला जिल्लामा पर्यटन पूर्वाधारको काम गर्दै आएको बताए । पाल्पा पर्यटकीय हिल स्टेशन रहेकाले पनि यस क्षेत्रलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न स्थानीयवासीहरु समेत सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए । पर्यटकहरुलाई आकर्षण गर्न स्थानीयवासीहरुले अतिथि सत्कारदेखि प्याकेज तथा संस्कृतिको विषयमा जोड दिनुपर्ने मन्त्री गिरीको धारणा थियो । पाल्पा दरबार संग्रहालयका सबै कोठाहरु संग्रहालयकै रुपमा प्रयोग गरिने उनले बताए ।
हाल पाल्पा दरबार संग्रहालयमा लुम्बिनी प्रदेशका प्रमुख धार्मिक स्थानहरुको फोटो र जानकारी, नेपाल अंग्रेज जितगढी युद्वका सामग्रीहरु, पाल्पा जिल्लाबाट संकलन गरिएका पुराना सामग्रीहरु राखिएका छन् । संग्रहालयको पहिलो तलामा मगरी तथा थारु विषयका सामग्रीहरु, दोस्रो तलामा नेपाली सेना गोरखदल गणले निर्माण गरेका पृथ्वीनारायण शाहदेखि हालसम्मका सैनिक सम्बन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारी राखिएको छ । आगामी दिनमा संग्रहालयमा सेनकालीन संस्कृति, जातीय संस्कृति र परम्परागत कला कौशलहरु राखिने छ । कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख डा. मोहन पौडेलले पाल्पा दरबारमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । पाल्पा दरबार अझै सुन्दर बनाउन कार्यालयको तर्फबाट अझ सक्रिय भएर काम गर्ने कार्यालय प्रमुख पौडेलले बताए ।
कार्यक्रममा इतिहासका जानकार निर्मल श्रेष्ठले जनरल प्रतापशमशेर र ऐतिहासिक दरबारका विषयमा चर्चा गरेका थिए । उनले दरबारभित्र शालिक अनावरण गरेर प्रताप शमशेरको योगदानको केही भएपनि सम्मान र कदर भएको बताए । जनरल प्रतापशमशेर १९८२ सालमा पाल्पा आएर १९८९ साल माघ २८ गतेसम्म तैनाथवाला भएर बसेका थिए । ७ रोपनी १४ आना क्षेत्रफलमा रहेको पाल्पा दरबार संग्रहालयमा ५८ कोठा २ बुर्जा छन् । क्षतिग्रस्त हुनुभन्दा अगाडि पाल्पा दरबारमा जिल्ला मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान, नेपाल स्काउट, ग्रामीण खानेपानी र प्रमुख जिल्ला अधिकारीको निवासका रूपमा प्रयोग हुँदै आएको थियो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलको सञ्चालनमा शालिक अनावरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update